समाचार
अमेरिकामा नेपालको शिक्षाबारे छलफल

काठमाडौँ, जेठ २३-
पूर्वशिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले अमेरिकाको नर्थ क्यारोलाइनाको मोरिसभिलमा नेपाली समुदायसँग नेपालको शिक्षाबारे अन्तरक्रिया गरेका छन्।
नेपालमा शिक्षण पेसामा संलग्न व्यक्तिहरूले नेपाल र अमेरिकाको शिक्षण विधिका भिन्नता र समानताबारे आफ्ना विचार राखेका हुन्। अन्तरक्रियामा नेपालको पाठ्यक्रम र शिक्षणमा गर्न सकिने सुधारबारे छलफल भएको थियो।
नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी) का संस्थापक अध्यक्ष ईश्वर देवकोटाले पोख्रेललाई स्वागत गर्दै विद्यार्थीले आफ्नो क्षमता र रुचिअनुसार विद्यालयमै कलेजका केही कोर्स पढ्न पाउने नीति बनाउनुपर्ने बताए।
एनसिएनसीका अध्यक्ष डा। विकास शाक्यले अमेरिकी शिक्षणजस्तै नेपालमा अनुसन्धानलाई बढी समावेश गर्नुपर्ने विचार राखे। योगमाया विश्वविद्यालय परिषद् सदस्य तथा साहित्यकार डा। नीलम कार्की ‘निहारिका’ले पाठ्यपुस्तकबाहेक अतिरिक्त किताब पढ्ने वातावरण बनाउन र उमेर तथा तहअनुसार पुस्तक प्रकाशन र पुस्तकालय व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए।
केही सामुदायिक विद्यालयले उदाहरणीय काम गरेकोले तिनलाई नमूनाको रूपमा प्रस्तुत गरी शिक्षकलाई समय(समयमा तालिम र निश्चित वर्षपछि लाइसेन्स नवीकरणको नीति प्रभावकारी हुने उनको भनाइ छ। नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष शिखर दुलालले सानै उमेरदेखि ‘हेल्थ फुल लिभिङ’ सम्बन्धी नैतिक शिक्षा दिनुपर्ने बताए।

























