समाचार
संघको निर्देशनपछि गण्डकीमा राइड सेयरिङ नियमावली स्थगन

पोखरा, जेठ २०–
गण्डकी प्रदेश सरकारले हालै लागू गरेको गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ को कार्यान्वयन प्रक्रिया अस्थायी रूपमा एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ। संघीय सरकारको आग्रह र सार्वजनिक यातायात बन्दका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै प्रदेश सरकारले सरोकारवाला पक्षहरूसँग वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
यो निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार गण्डकी प्रदेश सरकारलाई पठाइएको औपचारिक पत्रका आधारमा गरिएको हो। पत्रमा जनजीवनलाई सहज बनाउने उद्देश्यले नियमावली अन्तर्गतको कार्यान्वयन तत्काल रोक्न आग्रह गरिएको थियो।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवा नियमन गर्न जारी गरेको नियमावली कुनै आकस्मिक निर्णय नभई विधिको शासन, संवैधानिक आदेश र संघीय सहमतिका आधारमा बनेको हो। २०७६ फागुन २९ मा उच्च अदालत पाटनबाट राइड सेयरिङ सेवा नरोकिनुपर्ने निर्देशनात्मक आदेश, २०७८ भदौ ३ गते सर्वोच्च अदालतबाट ‘पे बाइक’ सेवा नरोकिने आदेशका आधारमा प्रदेशले नियमावली बनाएको हो ।
२०८१ असार १३ गते सर्वोच्च अदालतबाट ‘पठाओ’ जस्ता सेवाहरू रोक्न नहुने र कानुनी प्रबन्ध तत्काल गर्नुपर्ने आदेश प्राप्त भएका थिए। त्यस्तै, संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको बैठकबाट २०८१ मा नै प्रदेश सरकारहरूले राइड सेयरिङ सेवा नियमन गर्न कानून बनाउन सक्ने सहमति पनि भएको थियो। त्यसैका आधारमा गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को दफा ९३९४० अनुसार नियमावली जारी गरिएको हो।

























