कृषि

धनगढीमा अत्यधिक विषादी प्रयोग गरिएको आँप नष्ट

Banner

कैलाली, जेठः१९ –

धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग भएको दुई हजार २६७ किलो आँप नष्ट गरेको छ ।

उपमहानगरपालिकाको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाको आइतबार गरिएको संयुक्त अनुगमनमा नगरपालिकाका तीनवटा हाटबजार (फलफूल तथा तरकारी बजार) बाट विषादीको मात्रा अत्यधिक रहेको अखाद्य आँप नष्ट गरिएको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहिद गेट कृषि उपज थोकबजार, दक्षिणकाली मार्ग सब्जीमन्डी र धनगढीको चौराहास्थित हाटबजारबाट तरकारी तथा फलफूलका नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । थोक बजार तथा मन्डीबाट भिन्डी, काँक्रो टमाटर, करेला, केरा, अङ्गुर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकामा आँपमा विषादीको मात्रा बढी देखिएको र उक्त खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको शाखा प्रमुख मल्लले बताउनुभयो ।

परीक्षणका क्रममा भारतबाट आयात गरिएका फलफूलमध्ये आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरेराम प्रधानले बताउनुभयो । संयुक्त अनुगमनमा यस कार्यालयको मोबाइल खाद्य घुम्ती प्रयोगशाला प्रयोग गरी यस नगरपालिकाका तीन हाट बजारबाट फलफूल तथा तरकारीहरूका १८ वटा नमूनाहरूमा आरबिपिआर विधिबाट विषादी अवशेष परीक्षण गर्दा आँपको एउटा नमूनामा रोकावट ६१ प्रतिशत पाइएकाले उक्त आँप नष्ट गरिएको उहाँको भनाइ छ ।

करिब १७ वटा नमूनामा भने कैफियत नपाइएको उहाँले बताउनुभयो । अन्य तरकारी र फलफूलमा विषादीको अवशेष सामान्य रहेको भए पनि आँपमा विषादीको मात्रा उच्च भएकाले खान अयोग्य ठहर गरी उक्त आँप नष्ट गरिएको उहाँले बताउँनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>