देश/प्रदेश

लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन

Banner

लमजुङ, वैशाख ३०-

बर्खा सुरु हुन लाग्दा पनि लमजुङमा विद्युत् उत्पादन वृद्धि हुन सकेको छैन । हिउँ नपग्लिनु, मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायत खोलामा पर्याप्त पानी नहुँदा गत मङ्सिरदेखि घटेको विद्युत् उत्पादन वृद्धि हुन नसकेको हो ।

जिल्लामा उत्पादन थालेको सबैभन्दा ठूलो लमजुङको बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा गत मङ्सिरको सुरुआतदेखि उत्पादन घटेर २४ मेगावाटमा सीमित भएको थियो ।

अहिले केहीमात्रामा बढेर ३२ मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन थालेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख पवन बस्नेतले बताउनुभयो । उहाँका अनुसार गत वर्ष यो समयमा ४०(५० मेगावाट विजुली उत्पादन हुने गरेको थियो ।

उहाँले भन्नुभयो, “विगतका वर्षमाभन्दा यस वर्ष ढिलो विद्युत् उत्पादन वृद्धि हुने अवस्था छ । हिउँ नपग्लिनु, नदीमा पानी नहुनुलगायत कारणले आयोजनालाई आवश्यक पानी नहुँदा विद्युत् उत्पदान पुरानो अवस्थामा फर्किन ढिलाइ भइरहेको छ । मध्यमर्स्याङ्दी आयोजना सन् २००८ मा निर्माण सम्पन्न भएको हो ।” उक्त आयोजना रु २७ अर्ब २० करोडको लागतमा निर्माण सम्पन्न भएको थियो ।

जिल्लामा पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत् उत्पादन बढ्न सकेको छैन । यस आयोजनाबाट हाल १४ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

त्यस्तै, मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत्बाट अहिले ३०(३२ मेगावाटको हाराहारीमा मात्र विद्य्त् उत्पादन भइरहेको आयोजनाका इञ्जिनियर कर्ण अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष विद्युत् उत्पादन घट्दा २५ मेगावाटको एउटा टरर्वाइन मात्र चलाएका थियौँ, अहिले दुई वटा चलाएका छौँ, तर नदीमा पर्याप्त पानी नभएकाले पूरै क्षमतामा चल्न सकेको छैन ।”

त्यस्तै, ३० मेगावाटको ङादी जलविद्युत् आयोजना, दोर्दी करिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट बिजुली पूरै क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।

जिल्लामा १७ आयोजनाबाट करिब तीन सय मेगावाट बिजुली उत्पादन हुने गरेकामा नदीमा पर्याप्त पानी नहुँदा सो हाराहारीमा बिजुली उत्पादन हुन नसकेको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>