तनहुँ
मुग्लिन-पोखरा सडक विस्तारः तनहुँको पूर्वी खण्डमा १७ पुल निर्माण

तनहुँ, बैशाख ३०-
मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा १७ पुल निर्माण भएका छन् । पूर्वी खण्डअन्तर्गत जामुनेबाट आँबुखैरेनीसम्म ‘प्रिकाष्ट’ प्रविधिबाट १७ पुल निर्माण भएका हुन् ।चिनियाँ कम्युनिष्ट कन्स्ट्रक्सनले चीनबाट उपकरण ल्याएर प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरेको पूर्वी खण्डका सूचना अधिकारी एवं इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए । यहाँ सानाठूला गरी १७ वटा पुल निर्माण सम्पन्न भएका उनले बताए ।
मुग्लिन-पोखरा सडक आयोजनाअन्तर्गत व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पुलमा ६९ प्रतिशत भौतिक र ५२ दशमलव ४३ प्रतिशत आर्थिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ । उक्त पुल निर्माणले गति लिएको बताउँदै पाण्डेले पुलमा छ वटा स्पान रहने जानकारी दिए । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो ।
पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
पूर्वी खण्डअन्तर्गत सडकको ८४ प्रतिशत भौतिक र ६५ प्रतिशत आर्थिक प्रगति भएको सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार चार लेनतर्फ ३३ दशमलव ५६ र दुई लेनतर्फ तीन दशमलव दुई किलोमिटर दूरीमा अन्तिम कालोपत्र सकिएको छ ।
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । विसं २०२६ सालमा रेखाङ्कन भएको यस सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।
























