देश/प्रदेश
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल

काठमाडौं, वैशाख २३-
चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी र माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सबीच भेटवार्ता भएको छ।
चौधरीले सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एसिया एलायन्स–२०२५ (पिएए–२०२५) को अवसरमा मंगलबार विश्वविख्यात परोपकारी व्यक्तित्व तथा माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा दुबैबीच नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूबारे गम्भीर छलफल भएको छ।
उक्त भेटमा विनोद चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा
ुबलियो नेपालु अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे।
उनले नेपालको सामाजिक क्षेत्रमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौँदेखिको सहकार्यलाई थप विस्तार गर्ने बिषयमा छलफल भएको जानकारी दिए।
सांसद चौधरीले सोसियल मेडियामार्फत बिल गेट्ससँगको साइडलाइन मिटिङको तस्बिर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन्।
छलफलमा गेट्स फाउन्डेसनले विश्वका अन्य मुलुकहरूमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य र रोजगारी सम्बन्धी कार्यक्रमहरू नेपालमा पनि सञ्चालन गर्न र त्यसलाई सन्दर्भअनुसार विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो।

























