देश/प्रदेश

किसानलाई अनुदानमा मिनी टिलर वितरण

Banner

गोदावरी(कैलाली), वैशाखः२१ –

कैलालीको चुरे गाउँपालिका–४ खैरालाका किसानलाई मिनी टिलर वितरण गरिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले व्यावसायिक रूपमा कृषि पेसामा आवद्ध १८ जना किसानलाई ५० प्रतिशत अनुदानमा १८ वटा मिनी टिलर हस्तान्तरण गरेको हो ।

केन्द्रका अनुसार रु ७० हजार मूल्य पर्ने मिनी टिलरको रु ३५ हजार अनुदानमा किसानलाई उपलब्ध गराइएको हो । मागमा आधारित कार्यक्रममार्फत किसानलाई मिनी टिलर वितरण गरिएको कार्यालयले जनाएको छ ।

चुरेलाई व्यावसायिक अदुवा, बेसार, सुन्तला, मौसमी, अमिलो तथा केराखेतीका लागि उर्बर भूमिका रूपमा लिने गरिएको बताउँदै केन्द्रका सूचना अधिकारी दुर्गा ओझाले किसानलाई मिनी टिलर वितरणले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।

उहाँले जोत्न प्रयोग गरिने गोरु पाल्न छाडेपछि खेतीपातीमा समस्या हुँदा खेतबारी बाँझै हुन नदिन र किसानलाई खेतीपातीमा उत्साहित गर्न केन्द्रले पालिकासँगको समन्वयमा अनुदानमार्फत मिनी टिलर वितरण गरेको बताउनुभयो ।

सूचना अधिकारी ओझाले भन्नुभयो, “एकातिर किसानले गाईगोरु पाल्न छाडेका र अर्कोतिर परम्परागत भन्दा यान्त्रिक उपकरणले खनजोत गर्दा कम लागत पर्ने र छिटोछरितो हुने भएकाले किसानको मागअनुसार मिनी टिलर वितरण गरेका हौँ ।” कृषिको आधुनिकीकरण तथा उत्पादन लागत घटाई उत्पादन बढाउने उद्देश्यले किसानलाई मिनी ट्र्याक्टर उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

चुरे गाउँपालिका अदुवा, सुन्तला, कृषि, पशुपालनको पकेट क्षेत्रका रूपमा चिनिँदै आएकाले किसानलाई व्यावसायिक कृषिमा आत्मनिर्भर बनाउने विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सूचना अधिकारी ओझाले उल्लेख गर्नुभयो । सोहीअनुसार मिनी ट्र्याक्टर उपलब्ध गराइएको उहाँको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>