देश/प्रदेश
सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

घोडाघोडी (कैलाली), वैशाख २१-
गौरीगङ्गा नगरपालिका–७ का सुवन चौधरी अहिले ‘प्लम्बिङ’ पेसामा आबद्ध हुनुहुन्छ । उहाँले मासिक रु २५ हजारभन्दा बढी आम्दानी गरिरहनुभएको छ । केही वर्षअघि गौरीगङ्गगा–७ स्थित सुनपाल सामुदायिक वनले आयोजना गरेको सीपमूलक तालिममा सहभागी भएर उहाँले यो सीप सिक्नुभएको थियो ।
सीप सिकेपछि धेरैले वैदेशिक रोजगारी रोजे चौधरी भने यही गाउँमै बसेर काम गरिरहनुभएको छ । “सँगै तालिम लिने साथीहरू कोही तेस्रो मुलुक गए, कोही भारततिर लागे, म भने यतै बसेर काम गर्छु, खुसी पनि छु”, उहाँले भन्नुभयो । हाल उहाँले ड्राइभिङ तालिम पनि लिइरहनुभएको छ ।
चौधरीजस्तै गौरीगङ्गा–८ की मनीषा विष्ट पनि दैनिक ब्यूटिसियन तालिम लिन जानुहुन्छ । अहिले सुनपाल सामुदायिक वनले चौधरी र विष्ट जस्तै ९७ जनालाई सीपमूलक तालिम प्रदान गरिरहेको छ ।
वनले तीनमहिने ब्यूटिसियन र ४५ दिने ड्राइभिङ तालिमसँगै तीन महिने कम्प्युटर बेसिक तालिम, सिलाइकटाइ तालिम, टायल मार्बलिङ र प्लम्बिङ तालिम दिइरहेको सुनपाल सामुदायिक वनका अध्यक्ष रामबहादुर कामीले बताउनुभयो ।
सुनपाल सामुदायिक वनमा गौरीगङ्गा–७ र ८ का उपभोक्ता छन् । समूहमा आवद्ध उपभोक्ता घरपरिवारमध्येबाट इच्छुक युवायुवतीलाई तालिम दिइरहेको अध्यक्ष कामीले बताउनुभयो ।
वन ऐनअनुसार सामुदायिक वन उपभोक्ता समूहले कार्ययोजनाबमोजिम आर्जन गरेको वार्षिक आयबाट कम्तीमा २५ प्रतिशत रकम वनको विकास, संरक्षण र व्यवस्थापन कार्यमा खर्च गरी बाँकी रकमको कम्तीमा पचास प्रतिशत रकम सम्बन्धित स्थानीय तहसँग समन्वय गरी गरिबि न्यूनीकरण, महिला सशक्तीकरण तथा उद्यम विकास कार्यमा खर्च गर्नुपर्ने व्यवस्था रहेको छ । सोहीअनुसार सीपमूलक तालिम दिन थालिएको अध्यक्षले बताउनुभयो ।
अध्यक्ष कामीका अनुसार आर्थिक वर्ष २०८१’८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सिलाइकटाइका लागि रु दुई लाख १० हजार, ड्राइभिङका लागि चार लाख, ब्यूटीसियनका लागि रु एक लाख ७० हजार, कम्प्युटर बेसिकका लागि रु एक लाख २५ हजार, प्लम्बिङका लागि रु दुई लाख ५० हजार र टायल मार्बल फिटिङ तालिमका लागि रु दुई लाखगरी जम्मा १३ लाख ५५ हजार रकम छुट्याइएको छ ।
रोजगारका लागि जुन सुकै ठाउँमा गए पनि सहजै रोजगारी र राम्रो ज्याला पाउन भन्ने उद्देश्यका साथ तालिम दिइरहेको वनका अध्यक्ष कामीले बताउनु भयो ।
उहाँले भन्नुभयो, “हामीले तालिमको आयोजना आफ्नै ठाउँमै रोजगारीको सम्भावना बढाउनका लागि पनि गरेका हौँ । यदि विदेश जानुपर्ने भए पनि सीप सिकेर जान सकियोस् र काम खोज्न कठिनाइ नहोस् भन्ने सोचले यो तालिम सुरु गरेका हौँ ।”
तालिममा एकल महिला र विपन्न परिवारलाई प्राथमिकतामा राखिएको छ । तालिमसँगै सुनपालले परम्परागत पेसा व्यवसाय संरक्षणका लागि अनुदान दिने निर्णय पनि गरेको छ । अध्यक्षका अनुसार आरन व्यवसाय, बेत बाँस तथा चोयाबाट सामग्री बनाउने, थारू समुदायको डेलुवा, ढकिया, हेल्का, डिलिया बनाउने, दुना टपरी र हाते होजियारी व्यवसाय गर्नेहरूका लागि आवश्यक सामग्री खरिद अनुदान दिनेगरी आवेदन माग गरिएको छ ।
उपभोक्तालाई रोजगारतर्फ उन्खुम गराउन प्रयास गरिरहेको सुनपालले गौरीगङ्गामा रहेको खप्तड बहुमुखी क्याम्पसलाई एक थान ल्यापटप र पाठ्यपुस्तक खरिदका लागि रु दुई २ लाख दिने निर्णय गरेको छ । रासस

























