अन्तर्राष्ट्रिय

क्यानडालाई अमेरिकामा गाभ्ने प्रस्ताव गर्दै ट्रम्पले ट्रुडोलाई ‘गभर्नर’ भनेपछि…

Banner

काठमाडौँ,मंसिर २५ –

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ‘गभर्नर’ भनेर सम्बोधन गरेका छन्। ट्रम्पले आफ्नो ट्रुथ खातामा ‘क्यानाडा राज्यका गभर्नर जस्टिन ट्रुडोसँग डिनर गर्न पाउँदा खुसी लाग्यो’ भनेर लेखेका छन्।

उनले ट्रुडोसँग अर्को भेटको प्रतीक्षामा रहेको उल्लेख गर्दै भनेका छन्, ‘म गभर्नरसँग फेरि भेट्न तत्पर छु ताकि हामी कर शुल्क र व्यापारको बारेमा थप कुरा गर्न सकौं। नतिजा सबैका लागि राम्रो हुनेछ।’

केही दिनअघि, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो फ्लोरिडा पुगेर ट्रम्पसँग भेट गरेका थिए। त्यो भ्रमण कुनै योजनाबिना भएको भनिएको थियो। ट्रम्पले क्यानडामाथि कर लगाउने घोषणा गरेसँगै ट्रुडो अचानक फ्लोरिडा पुगेका थिए।

सो भेटमा ट्रम्पले ट्रुडोसँग क्यानडालाई अमेरिकामा गाभ्न प्रस्ताव गरेको खबर बाहिर आएको थियो। कर शुल्क सहन नसक्ने भए क्यानडा अमेरिकाको ५१औँ राज्य हुनुपर्ने अनि त्यहाँको गर्भनर ट्रुडोलाई बनाउने कुरा गरेको दाबी गरिएको थियो।

तर ट्रम्पले ट्रुडोलाई ‘ग्रेट स्टेट अफ क्यानडाको गभर्नर’ भनेर सम्बोधन गरेको कुरा एक प्रकारको व्यङ्ग्यात्मक टिप्पणी हो भन्ने विश्वास गरिएको छ।

ट्रम्पले क्यानडालाई अमेरिकाको कुनै राज्य भन्ने सन्देश दिन खोजेका छन्। जबकि क्यानडा एक स्वतन्त्र राष्ट्र हो। यस टिप्पणीको वास्तविक कारण स्पष्ट छैन, तर यसलाई मजाकको रूपमा लिइएको छ। एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>