अन्तर्राष्ट्रिय
स्विट्जरल्यान्डमा बस दुर्घटना

जेनेभा, भदौ २६ –
पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना हुँदा धेरै जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् । ग्रुबुन्डेन क्यान्टनको सुस्क र जेर्नेज नगरपालिकाबीच बिहीबार साँझ सुरक्षा अवरोधमा ठोक्किएर कोच पल्टिँदै बाँधबाट तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटना स्थानीय समयअनुसार साँझ ४ः४५ बजे भएको हो । क्यान्टोनल प्रहरीले मृतक र घाइतेको यकिन सङ्ख्या तत्काल सार्वजनिक नगरी परिवारलाई जानकारी गराउने प्रक्रिया भइरहेको जनाएको छ । घटनास्थलमा उद्धारकर्मी तथा हेलिकप्टर परिचालन गरिएको थियो ।
डच फेडेरेसन अफ ट्राभल एजेन्सीका अनुसार दुर्घटनामा परेको कोच टुर कम्पनी ओडको हो । नेदरल्यान्ड्सबाट सोमबार प्रस्थान गरेको उक्त कोच अस्ट्रियाबाट स्विट्जरल्यान्डको एकदिने यात्रामा रहेका बेला दुर्घटनामा परेको हो ।
टुर कम्पनी ओडले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित व्यक्ति र उनीहरूका परिवारलाई सहयोग गर्न स्थानीय अधिकारीसँग समन्वय भइरहेको जनाएको छ । स्विस राष्ट्रपति गाइ पारमेलिनले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
दुर्घटना भएको जेर्नेज स्विस राष्ट्रिय निकुञ्जको प्रवेशविन्दुमध्ये एक हो । उक्त क्षेत्र एन्गाडिन उपत्यकामा फैलिएको एक सय वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफलको विशाल अल्पाइन संरक्षित क्षेत्रका रूपमा परिचित छ । रासस/एएफपी


























