राजनीति
निर्देशन पालना नगरेको भन्दै गृह मन्त्रालयले गर्यो एन-प्याब्सनलाई निलम्बन

काठमाडौं,कात्तिक १३-
गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई निलम्बन गरेको छ। शुक्रबार मन्त्रालयले एक सूचना जारी गर्दै एन–प्याब्सनलाई निलम्बन गरिएको जानकारी दिएको हो।
एन–प्याब्सनले मन्त्रालयबाट दिइएको निर्देशन पालना गरेको नदेखिएको र संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरीतका कार्यहरू गरेको पाइएको सूचनामा उल्लेख छ।
राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पालना नगरेको भन्दै ऐनको दफा ६ को उपदफा ९२० अनुसार एन–प्याब्सनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ। यस्तै, मन्त्रालयले संस्थाको नाममा कुनै पनि समूह वा गुटले गर्ने गतिविधि गैरकानुनी हुने चेतावनीसमेत दिएको छ।
‘यो सूचना जारी भए पश्चात् संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने क्रियाकलाप गैरकानुनी हुने हुँदा प्रचलित कानुन बमोजिम कारबाही हुने बेहोरासमेत जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।

























