अन्तर्राष्ट्रिय
भारतमा हर्ट अट्याकबाट विद्यालयमा १३ वर्षीय बालकको मृत्यु

नयाँ दिल्ली, भदौ २४ –
भारतको मेरठस्थित मवाना थाना क्षेत्रको एक विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीय कुनाल शर्माको अचानक मृत्यु भएको छ । विद्यालयमा छुट्टी भएपछि अन्य विद्यार्थी घर फर्किए पनि कुनाल बाहिर नआएपछि खोजी गर्दा उनी विद्यालयको वाशरुममा अचेत अवस्थामा भेटिएका थिए ।
कुनाल मवाना निवासी धर्मेन्द्र शर्माका छोरा थिए । सोमबार उनी नियमित झैँ विद्यालय पुगेका थिए । छुट्टीपछि ई–रिक्सा चालकले अन्य विद्यार्थीलाई लिएर घर जाने तयारी गरे । सबैजसो विद्यार्थी बाहिर निस्किए पनि कुनाल कतै देखिएनन् ।
१५ मिनेटसम्म कुर्दापनि बालक नआएपछि विद्यालयभित्रै गएर चालक उनको खोजी गरे । खोजीका क्रममा कुनाल अचेत अवस्थामा वाशरुममा लडिरहेको भेटिए । बालकलाई तत्काल चिकित्सककहाँ लगियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरे ।
प्रारम्भिक जानकारीमा उनको मृत्यु हृदयाघात वा अचानक हृदयगति रोकिएर भएको आशंका गरिएको छ । तर मृत्युको वास्तविक कारण अझै स्पष्ट भइसकेको छैन । चिकित्सकीय जाँच र आवश्यक कानुनी प्रक्रियापछि मात्रै मृत्युको कारण स्पष्ट हुने बताइएको छ ।
मवाना थाना प्रभारी पंकज लवानियाका अनुसार विद्यालयमै अचानक हृदयगति रोकिएपछि कुनालको मृत्यु भएको जानकारी प्राप्त भएको थियो । विद्यालय प्रशासन र परिवारले उनलाई तत्काल चिकित्सककहाँ पुर्याएका थिए, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार परिवारले घटनाबारे कुनै उजुरी दिएको छैन । हालसम्म आपराधिक घटनाको पुष्टि नभएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । एजेन्सी
























