अन्तर्राष्ट्रिय
२०२६ मा चुनावी मैदानमा उत्रिँदैछन् साउथ स्टार विजय

नयाँ दिल्ली, भदौ २३-
दक्षिण भारतीय फिल्म जगतका प्रसिद्ध अभिनेता दलपति विजय चुनावी मैदानमा उत्रिने भएका छन् । विजयको राजनीतिक दल सन् २०२६ मा हुन लागेको तमिलनाडुको विधानसभा चुनावमा आफ्नो भाग्यको परीक्षा दिन तयार देखिएको छ ।
निर्वाचन आयोगबाट पनि उनको पार्टीले स्वीकृति पाइसकेको छ । यो जानकारी दलपति विजय आफैँले दिएका हुन् । ती अभिनेताले आफ्नो अभिनय करियरलाई बिट मारेर राजनीतिमा प्रवेश गर्ने निर्णय गरेका छन् ।
उनले आफ्नो राजनीतिक दल पनि गठन गरेका थिए । अभिनेताले आफ्नो पार्टीको नाम तमिलगा वेत्री कझगम (टिभिके) राखेका छन् । भर्खरै मात्रै आफ्नो पार्टीको उनले आधिकारिक झण्डा र चुनाव चिन्ह सार्वजनिक गरेका थिए ।
भारतको निर्वाचन आयोगले आधिकारिक रूपमा तमिलगा वेत्री कझगमलाई राजनीतिक दलको रूपमा दर्ता गरेको विजयले भनेका छन् ।
यससँगै निर्वाचन आयोगले उनको दललाई राजनीतिक दलका रूपमा चुनावी राजनीतिमा सहभागी हुन अनुमति दिएको पनि उनले बताएका छन् ।

























