देश/प्रदेश

गत आवमा १४ हजारभन्दा बढी महिला पदयात्रीले गरे गोसाइँकुण्ड क्षेत्र अवलोकन

Banner

रसुवा, साउन ४-

लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्र अवलोकनका लागि गत आर्थिक वर्षमा चौध हजार भन्दाबढी महिला पैदयात्रीले भ्रमण गरेका छन् ।

बाह्य मुलुकका महिला हिमाली प्राकृतिक छटाको अवलोकन गर्न र आन्तरिक महिला हिमाली उच्च भागको अवलोकन एवं धार्मिक यात्राका लागि पर्यटकको रूपबाट यहाँ आउने गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा यस्ता १४ हजारभन्दा बढी महिलाले अवलोकन भ्रमण गरेका हुन् । उक्त अवधिमा यहाँ आठ हजार चार सय ७९ आन्तरिक तथा चार हजार नौ सय ७७ बाह्य महिला पैदयात्रीले भ्रमण गरेका लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । पुरूषतर्फ भने स्वदेशी तथा विदेशी एवं सार्क राष्ट्रका समेत गरी २३ हजार एक सय १८ जनाले रसुवाको भ्रमण गरेको कार्यालयले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज क्षेत्र भएकाले यहाँ विदेशीलाई प्रतिव्यक्ति रू तीन हजार, सार्क राष्ट्रका पर्यटकलाई रू एक हजार पाँच सय र आन्तरिकका लागि रू एक सय शुल्क लाग्ने प्रावधानअनुरूप गत आवमा रु तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

यस्तै गत आवमा पर्यटक शुल्क, वन पैदावार, होटल रोयल्टी, हेलिकप्टर अवतरण, दण्ड, जरिवानासमेतबाट निकुञ्जको समग्र वार्षिक राजस्व रु पाँच करोड ४३ लाख १९ हजार एक सय २१ सङ्कलन भएको वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

रसुवाको गोसाइँकुण्ड धार्मिकमार्ग तथा लाङ्टाङ पदमार्गका ठाउँ ठाउँमा होटल तथा लजको व्यवस्थापन एवं मागअनुसार खाने, बस्ने व्यवस्थाका साथै काठमाडौँदेखि छोटो दूरीमा यहाँ पुग्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताउनुहुन्छ ।

प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले वर्षायाममा सकभर यात्रा नर्गन र यदि यात्रा गर्नुपर्ने भएमा जोखिमलाई ख्याल गरेर मात्र हिँड्डुडुल गर्न अनुरोध गरिएको बताउनुहुन्छ । पदयात्रामा जाँदा सुरक्षा आवश्यक परेको वा बिरामी परि आपतकालीन अवस्था आएमा जिल्ला प्रशासन कार्यालय, जिल्ला आपतकालीन केन्द्र र प्रहरी प्रशासनसँग समन्वय गरी सहयोग लिने व्यवस्था गरिएकाले पछिल्लो समय पर्यटकलाई सहज भएको उल्लेख गर्नुभयो ।

यहाँ महिला पदयात्रीको सङ्ख्या बढेसँगै स्थानीय महिला उत्साहित भएका छन् । महिलाले पनि पुरूष सरह पैदलयात्रा गर्न सक्छन् भन्ने शाहासीपन देखाउँदै पछिल्लो समय गाउँघर तथा सहरबजारका दिदीबहिनी यात्रामा आउन थालेपछि आफूहरू उत्पाहित भएको स्थानीयले बताउने गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>