देश/प्रदेश
८ लाख दिएर काका र उनको साथीको हत्या, २३ दिनपछि तीनजना पक्राउ

जनकपुरधाम, असार २०-
नेपाल-भारत सीमामा पर्ने ओरिया खोला नजिक दुई शव गाडिएको अवस्थामा फेला परेको थियो । जेठ २३ गते बाराको कलैयाका रामएकवाल पण्डित कुम्हाल र आदर्शकोतवाल घर भई कलैया बस्दै आएका सुरेश ठाकुरको शव गाडिएको अवस्थामा फेला परेको थियो ।
प्रहरीले उनीहरुको हत्यामा संलग्न ३ जनालाई २३ दिनपछि पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पर्साको जगरनाथपुर गाउँपालिका ५ का सन्तोषप्रसाद कुम्हाल, सोही ठाउँका महादेव महतो नुनिया र बाराको कलैयाका लक्ष्मण प्रजापति छन् । लक्ष्मणका भिनाजु हुन् सन्तोष ।
मृतक रामएकवाल लक्ष्मणका सहोदर काका हुन् । रामएकवाललाई गाउँलेले धामी मान्छन् । घरका सदस्य र घरपालुवा पशुलाई जादुटुना गरेको भन्दै लक्ष्मणले काका रामएकवाललाई र घटना बाहिरिने डरले सुरेशलाई पनि हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
धामी काका रामएकवाललाई मार्नका लागि रामएकवाल र उनका भिनाजु सन्तोषले ८ लाख रुपैयाँ खर्चेको पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
पक्राउ परेका तीनैजनामाथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर थप अनुसन्धान अगाडि बढाएको उनको भनाई छ ।

























