गोरखा

गोरखाको माछीखोलामा ‘डम्पिङ साइट’ निर्माण

Banner

गोरखा, असार ७-

उत्तरी गोरखाको धार्चे गाउँपालिकाको केन्द्र माछीखोलामा फोहर व्यवस्थापनका लागि ‘डम्पिङ साइट’ निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड, गाउँपालिका र उपभोक्ता समितिको साझेदारीमा धार्चे–५ माछीखोलामा ‘डम्पिङ साइट’ निर्माण गरिएको हो ।

माछीखोला बजार क्षेत्रको वातावरणीय स्वच्छता जोगाइराख्न, प्रदूषणका कारण स्वास्थ्यमा हुने असर न्यूनीकरण गर्न पालिकाले फोहर व्यवस्थापनको पहल थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो । उक्त साइट निर्माण गर्न रु सात लाख ८७ हजार तीन सय ८२ खर्च भएको उहाँले जानकारी दिनुभयो ।

“गाउँपालिकाले रु चार लाख २० हजार, नेपाल पर्यटन बोर्डकातर्फबाट रु दुई लाख ८० हजार र उपभोक्ता समितिकोतर्फबाट रु ८७ हजार तीन सय ८२ को लागत साझेदारीमा ‘डम्पिङ साइट’ निर्माण भएको हो”, अधिकृत सुनारले भन्नुभयो, “यसले माछीखोला बजार र आसपासका क्षेत्रबाट निस्कने फोहर व्यवस्थापनमा सजिलो हुने भएको छ ।” माछीखोला बजारमा सङ्कलन भएको फोहर डम्पिङ साइटमा लगेर विर्सजन गर्न थालिएको उहाँको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत सुनारका अनुसार बजार क्षेत्रका सर्वसाधारणलाई गाउँपालिकाले फोहर सङ्कलन गर्न ‘डस्टविन’ उपलब्ध गराएको छ । उहाँले भन्नुभयो, “सङ्कलित फोहर पालिकाले तालिका बनाएर विसर्जन गर्न सुरु गरेको छ ।”

यसअघि फोहर विसर्जनका लागि उचित स्थान नहुँदा माछीखोला बजार र आसपासबाट निस्कने फोहर व्यवस्थापनमा समस्या हुँदै आएको थियो । गाउँपालिकाले पछिल्लो समय हरेक हप्ता माछीखोला बजारमा सरसफाइ अभियानसमेत सञ्चालन गर्दै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>