समाचार

अघिल्लाभन्दा संसदका यो अधिवेशन उपलब्धिमूलकः सभामुख

Banner

काठमाडौँ, वैशाख २-

सभामुख देवराज घिमिरेले तुलनात्मक रुपमा अघिल्ला अधिवेशनभन्दा प्रतिनिधिसभाको तेस्रो अधिवेशन उपलब्धिपूर्ण भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको तेस्रो अधिवेशन अन्त्यका अवसरमा आज आयोजित बैठकमा उहाँले कानुन निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्नेलगायतका कार्यमा तुलनात्मक रूपमा अघिल्ला अधिवेशनभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको बताउनुभएको हो ।

सभामुख घिमिरेले भन्नुभयो, “अघिल्ला अधिवेशको तुलनामा तेस्रो अधिवेशन उपलब्धिपूर्ण भए पनि पर्याप्य भने हुन सकेन । राजनीतिक दलहरूबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका आधारमा आगामी अधिवेशन अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास लिएको छु ।”

उहाँले अधिवेशन अवधिभर सक्रियतापूर्वक सहभागी हुने सदस्यलाई धन्यवाद ज्ञापन गर्दै संसदीय कार्यमा सहयोग गर्ने सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षालगायतका सबै संयन्त्रलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

“संसद् जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले अभिव्यक्ति दिने प्रमुख स्थान भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुन्छन्”, उहाँले भन्नुभयो, “नेपाली समाज र राजनीतिमा रहेका विविधता, विरोध र बहस पनि स्वाभाविक रूपमा देखिन्छन् । संसद्मा अभिव्यक्त जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पुर्याउँछ ।”

संसद्मा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पुर्याउन सके यस गरिमामय संस्थाको महत्व र समयको उचित सदुपयोग हुनसक्ने सभामुखको भनाइ थियो । संसद् जति क्रियाशील र प्रबुद्ध भयो त्यसले त्यति नै विधि निर्माणमा गुणात्मक प्रभाव पार्ने बताउनुभयो । त्यस अवसरमा उहाँले नयाँ वर्ष २०८१ सालको शुभकामना व्यक्त गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>