अन्तर्राष्ट्रिय

बाइडेनकी छोरीको डायरी बेच्नेलाई कैद सजाय

०
Banner

वासिङटन डिसी, चैत २९-

अमेरिकाको राष्ट्रपति जो बाइडेनकी छोरी एश्लीको डायरी बेचेको आरोपमा एक जनालाई अदालतले कैद सजाय सुनाएको छ।

मंगलबार म्यानह्याटन फेडरल कोर्टकी न्यायाधीश लौरा टेलर स्वैनले फ्लोरिडाकी एमी ह्यारिसलाई डायरी चोरी गरी बेचेको आरोपमा एक महिना कैद सजाय र तीन महिना घरमै नजरबन्दमा राख्ने सजाय सुनाएको हो।

द गार्डियनका अनुसार ह्यारिस र अर्का प्रतिवादी रोबर्ट कुरल्यान्डरले एश्लीको डायरी ‘प्रोजेक्ट भेरिटास’लाई बेचेका हुन्। डायरीबापत ह्यारिसले २० हजार अमेरिकी डलर प्राप्त गरेको समाचारमा उल्लेख छ।

सन् २०१० मा खुलेको प्रोजेक्ट भेरिटास संस्थाले आफू समाचार संस्था भएको दाबी गर्छ। यस संस्थाले क्यामेराहरू लुकाएर स्टिंग अपरेशन गरी भिडिओहरू सार्वजनिक गर्ने गरेको छ।

ह्यारिस र कुरल्यान्डरले सुरूमा सन् २०२० को राष्ट्रपतीय चुनाव हुँदा डोनाल्ड ट्रम्‍पको अभियानलाई बेच्ने प्रयास गरेका थिए। तर बिक्री नभएपछि प्रोजेक्ट भेरिटासलाई बेचेको हो। मंगलबार सुनुवाइ भइरहँदा इजलासमा एश्ले पनि उपस्थित थिइन्।

दोषी ठहरिएकी ह्यारिसले इजलासमा एश्लेसँग क्षमा मागेकी थिइन्। उनले उक्त डायरी सन् २०२० मा फ्रोरिडाको डेलरे बीचमा आफ्ना साथीको घरबाट भेटाएको बताएकी थिइन्। डायरीसँगै डिजिटल स्टोरेज कार्ड, किताब, कपडा, लगेजलगायत चोरेको आरोप छ।

ह्यारिशलाई जुलाईसम्ममा जेलमा हाजिर हुन भनिएको छ।

कुरल्यान्डरलाई पनि यो मुद्दामा अदालतले दोषी ठहर गरेको छ। तर उनलाई भने सजाय पछि सुनाउनेछ। प्रोजेक्ट भेरिटासले उक्त डायरी सार्वजनिक भने नगरेको बिबिसीले जनाएको छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>