समाचार
रुसी सेनामा भर्ना भएकाका परिवारले गृहमन्त्रीलाई बुझाए ध्यानाकर्षणपत्र

काठमाडौँ, चैत २४–
रुसी सेनामा आवद्ध भएकाका परिवारले उनीहरुको जीवन रक्षाको माग गर्दै गृहमन्त्री रवि लामिछाने समक्ष ध्यानाकर्षणपत्र बुझाएका छन्।
रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियानले आज मन्त्रालयमा पुगेर गृहमन्त्री लामिछाने समक्ष १३ बुँदे मागसहितको ध्यानाकर्षणपत्र बुझाएको हो।
सो क्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रुसी सेनाका समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै त्यसबारे प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने प्रतिक्रिया दिएका छन्।
‘रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ले उक्त ध्यानाकर्षणपत्र दिएको हो। सो क्रममा अभियानको टोलीले युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षा तथा उद्दार गरी सकुशल नेपाल फिर्ताको पहल गरिदिन अनुरोध गरेको थियो।
रुसी सेनामा रहेका आफन्तलाई सकुशल फर्काइदिने भन्दै केहीले आफूहरुसँग पैसा लिएको भन्दै पीडितले उनीहरुलाई पक्राउ गर्न गृहमन्त्री समक्ष मागसमेत गरेका थिए।
अभियानले हालसम्म ६२० जनाको विवरण संकलन गरेकोमा ३९ जनाको मृत्यु भएको पाइएको छ। जसमध्ये पाँच जना नेपाली युक्रेनी सेनाको कब्जामा रहेका छन्। युद्धका क्रममा ११७ जना नेपाली घाइते भएका छन् भने २७२ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।























