नवलपुर
कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

कावासोती,असोज १७-
नवलपुरको कावासोतीस्थित यातायात कार्यायलमा डिजिटल लिखित परीक्षा लागू भएसंगै सेवाग्राहीको चाप बढेको छ । नवलपुरसंगै चितवन आसपासका जिल्लाका नागरिकहरु अहिले यातायातको सेवा लिन कावासोती पुग्ने गरेका छन । हप्तामा करिब १२ सय सेवाग्राही यातायात कार्यालयमा सेवा लिन पुग्ने गरेको कार्यालयले जनाएको छ । चितवनमा लाइसेन्सको काम रोकिएका कारणपनि कावासोतीमा सेवाग्राहीको चाप बढेको छ ।
सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा विद्युतीय प्रणालीको प्रयोग प्रभावकारी बन्दै गएको हो। परम्परागत कागजी परीक्षाको विकल्पका रूपमा सुरु गरिएको डिजिटल प्रणालीले परीक्षा सञ्चालन, मूल्याङ्कन र नतिजा प्रकाशन प्रक्रियालाई सहज बनाएको छ।
कागजी परीक्षामा परीक्षार्थीले निर्धारित उत्तरपुस्तिकामा सही विकल्पमा गोलो लगाएर वा सङ्केत गरेर उत्तर दिनुपर्ने व्यवस्था थियो। यस क्रममा उत्तर थाहा हुँदाहुँदै पनि उत्तर सङ्केत गर्ने तरिकामा हुने सामान्य त्रुटिले नतिजामा असर पर्न सक्ने अवस्था रहन्थ्यो। तर विद्युतीय प्रणालीमा ट्याबको स्क्रिनमा प्रश्न र त्यसका चारवटा विकल्प देखिने भएकाले परीक्षार्थीले आफूलाई सही लागेको उत्तरमा ट्याप गरेर सहजै अर्को प्रश्नमा जान सक्छन्।
डिजिटल परीक्षा प्रणालीको अर्को महत्त्वपूर्ण विशेषता प्रत्येक परीक्षार्थीलाई फरक–फरक प्रश्न प्रस्तुत गरिनु हो। यसले प्रश्नपत्र आदानप्रदान गर्ने, अरूको उत्तर हेर्ने तथा अनुचित सहयोग लिने सम्भावना कम गर्न मद्दत पुर्याउँछ। साथै, परीक्षाका क्रममा परीक्षार्थीका गतिविधि, आवाज तथा दृश्य अभिलेख गर्ने व्यवस्थाले परीक्षा प्रक्रियाको निगरानी र आवश्यकताअनुसार समीक्षा गर्न सहज बनाएको छ।
विद्युतीय प्रणालीको सबैभन्दा उल्लेखनीय पक्ष भनेको तत्काल नतिजा प्राप्त गर्न सकिने सुविधा हो। कागजी परीक्षामा उत्तरपुस्तिका सङ्कलन, परीक्षण तथा नतिजा प्रकाशनका लागि लामो समय कुर्नुपर्ने अवस्था थियो। तर डिजिटल प्रणालीमा परीक्षा सम्पन्न गरी उत्तर पेस गरेको केही सेकेन्डमै परीक्षार्थीले उत्तीर्ण वा अनुत्तीर्ण भएको जानकारी प्राप्त गर्न सक्छन्। यसले नतिजाका लागि प्रतीक्षा गर्नुपर्ने झन्झट र अन्योललाई कम गर्दै परीक्षार्थीलाई तत्काल आफ्नो अवस्थाबारे जानकारी उपलब्ध गराउँछ।























