चितवन विशेष
मस्तिष्क पक्षाघात प्रभावित बालबालिकाका अभिभावकलाई प्रेरणा र सम्मान

भरतपुर, असोज १७ । १५औँ विश्व मस्तिष्क पक्षाघात दिवसको अवसरमा मस्तिष्क पक्षाघातको लागि अभिभावक स्वावलम्बन समूह, भरतपुर–२६, ज्योतिनगरको आयोजनामा मस्तिष्क पक्षाघात प्रभावित बालबालिकाका अभिभावकहरूका लागि प्रेरणादायी मोटिभेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा मस्तिष्क पक्षाघात प्रभावित बालबालिकाको हेरचाह, पालनपोषण तथा उनीहरूको सर्वाङ्गीण विकासमा अभिभावकले निर्वाह गर्नुपर्ने भूमिका, चुनौती र सम्भावनाका विषयमा छलफल गरिएको थियो। साथै, बालबालिकाको हेरचाहमा निरन्तर समर्पित अभिभावकहरूको मनोबल उच्च बनाउने, उनीहरूमा आत्मविश्वास अभिवृद्धि गर्ने तथा स्वावलम्बी जीवनयापनका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
संस्थाका अध्यक्ष लक्ष्मीकान्त घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी, ‘तिमीसँग आन्विका अभियान’का अध्यक्ष दिनेश प्रधान लगायत अन्य विभिन्न पदका महानुभावहरु विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा मस्तिष्क पक्षाघात प्रभावित बालबालिकाका अभिभावक, सामाजिक व्यक्तित्व तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।कार्यक्रममा अभिभावकहरूलाई सकारात्मक सोच, धैर्यता, आत्मविश्वास र पारिवारिक सहयोगको महत्त्वबारे प्रेरित गर्दै मस्तिष्क पक्षाघात प्रभावित बालबालिकालाई माया, स्याहार र उचित अवसर प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो। यस्ता बालबालिकाको क्षमता पहिचान गरी उनीहरूलाई समाजको मूलधारमा समेट्न परिवार, समुदाय र राज्य सबैको सहकार्य आवश्यक रहेको विषयसमेत उठाइएको थियो।
मस्तिष्क पक्षाघात प्रभावित बालबालिकाको हेरचाहमा दिनरात खटिने अभिभावकहरूको योगदानको कदर गर्दै ३० जना अभिभावकहरुलाई सम्मानसमेत गरिएको थियो। अभिभावकहरूले भोग्दै आएका सामाजिक, आर्थिक तथा पारिवारिक चुनौतीलाई सम्बोधन गर्न सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रमले मस्तिष्क पक्षाघात प्रभावित बालबालिका र उनीहरूका अभिभावकप्रति समाजमा सकारात्मक सोचको विकास गर्नुका साथै अभिभावकहरूबीच आपसी सहयोग, अनुभव आदानप्रदान र एकताको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
मस्तिष्क पक्षाघात प्रभावित बालबालिका र उनीहरूका परिवारको जीवन सहज बनाउन सचेतना, सहयोग र सम्मानका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै कार्यक्रम सम्पन्न भएको थियो।























