अपराध

पैतालिस वर्षीया महिलालाई जबर्जस्ती करणी गरी हत्या गरेका अभियुक्तलाई कैद फैसला

Banner
दमौली (तनहुँ), चैत २३-
पैतालिस वर्षीया महिलालाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले अभियुक्तलाई कैद र जरिवानाको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलासले अभियुक्त आँबुखैरेनी गाउँपालिका–६ बस्ने नारायण भन्ने समबहादुर भुजेल, सोही ठाउँका क्यानम भन्ने चन्द्रबहादुर भुजेल र दुई नाबालकलाई कैद तथा जरिवानाको फैसला सुनाएको हो ।
अभियुक्त नारायण भन्ने समबहादुर भुजेललाई १२ वर्ष कैद र रु दुई लाख जरिवानाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार केशवप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । पौडेलका अनुसार निजबाट मृतकका छोरालाई रु एक लाख क्षतिपूर्ति भराउने फैसलासमेत भएको छ । त्यस्तै अर्का अभियुक्त क्यानम भन्ने चन्द्रबहादुर भुजेललाई १० वर्ष कैद, रु एक लाख जरिवाना र रु ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको स्रेस्तेदार पौडेलले बताउनुभयो । निज चन्द्रबहादुर मृतक महिलाका श्रीमान् हुन् ।
सोही घटनामा संलग्न भएका सोही ठाउँका १७÷१७ वर्षीय दुई बालकलाई जनही आठ वर्ष कैद फैसला भएको छ । ती दुई बालकलाई १२ वर्षको कैद सजाय भए पनि नाबालक भएका कारण चार वर्ष कैद मिनाहा भएको हो ।
समबहादुर भुजेलसहित तीन जनाले २०७८ फागुन २८ गते राति पीडितकै घरमा गई मृतकका पति चन्द्रबहादुरलाई समातेर घर बाहिर लगी पालैपालो बलात्कार गरेको आरोप मृतकका छोराले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । मदिरा सेवनबाट लट्ठ भएकी कुमारीलाई आरोपितले पालैपालो बलात्कार गरेको अदालतले पनि ठहर गरेको छ ।
बलात्कार गरेर ती युवा भागेपछि घरभित्र गएका चन्द्रबहादुरले आफ्नै पत्नीले ती युवाहरुलाई बोलाएको आशङ्कामा ओदान अड्याउन राखेको ढुङ्गाले टाउकामा हानी हत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
मृतकका छोराले २०७८ फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपित चारैजनालाई २०७८ चैत १ गते पक्राउ गरेको थियो । शवको फागुन २९ गते दमौली अस्पतालमा शव परीक्षण भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले आरोपितविरुद्ध विसं २०७८ चैत २१ गते जिल्ला अदालतमा जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता गरेको थियो । आरोपित चारै जना जिल्ला अदालतको आदेशमा चैत २३ गतेदखि पुर्पक्षका लागि थुनामा थिए ।
करणी अभियोगमा साढे सात वर्ष कैद
तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी अभियोगमा एक अभियुक्तलाई सात वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलासले अभियुक्त आँबुखैरेनी–५ का रोशन भन्ने मेषबहादुर गुरुङलाई सात वर्ष छ महिना कैद फैसला सुनाएको हो ।
साथै निजलाई रु दुई लाख जरिवानाको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार निजलाई तीन महिना कैद र रु ३० हजार जरिवानाको फैसला थप भएको छ । त्यस्तै पीडितलाई रु ५० हजार क्षतिपूर्ति र राहत कोषमा रु ११ हजार दुई सय भराउने फैसला भएको छ । युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा अभियुक्तविरुद्ध विसं २०७८ फागुन २० गते अदालतमा मुद्दा दर्ता भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>