चितवन विशेष
चितवन नेविसंघमा देखियो विवाद, असन्तुष्ट पक्षले बुझाए सभापतिलाई ज्ञापनपत्र

चितवन, भदौ १५-
नेपाल विद्यार्थी संघ चितवनमा फेरी विवाद देखिएको छ । अवैधानिक रुपमा नयाँ विस्तारित समिति गठन गरिएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएका हुन् ।
पाटीका जिल्ला सभापति राजेश्वर खनाललाई पत्र नै लेखेर असन्तुष्ट पक्षले अधिवेशन गराउन दिएको समय समेत सकिएको अवस्थामा एक्लौटी समिती विस्तार गरिएको भन्दै विरोध जनाएका हुन् । केन्द्रीय नेतृत्वले अधिवेशन गराउन पाँच महिना अगाडि नेविसंघको जिल्ला अध्यक्षमा राजेश भुसाललाई मनोनित गरेको थियो ।
‘भुसाललाई तीन महिनाभित्र अधिवेशन गर्नेगरी अध्यक्षमा मनोनित गरिएको हो । त्यसकारण केन्द्रीय अध्यक्षले अधिवेशन गराउनको लागि भनेर दिएको समय समेत सकिरहेको अवस्थामा अध्यक्ष भनेर गरेका कुनै पनि गतिविधि वैधानिक नहुने कुरा स्मरण गराउँछौं,’ जिल्ला सभापति खनाललाई बुझाईएको ज्ञापन पत्रमा भनिएको छ । ‘यो समितिलाई कुनै मान्यता नदिन अनुरोध गर्दछौँ ।’ उनीहरुले नेविसंघ चितवनलाई अगाडि बढाउन तीन महिना भित्र नयाँ नेतृत्व चयन गर्न माग गरेका छन् ।
विस्तारित समितिको विरोधमा सभापतिलाई लेखिएको ज्ञापन पत्रमा सात जना केन्द्रिय सदस्यले हस्ताक्षर गरेका छन् । विरोध जनाउनेहरुमा केन्द्रिय सदस्य राजेश दाहाल, गणेश रिजाल, सुवास कोइराला, बृद्धि विश्वकर्मा, रिना भट्टराई, विजय मल्ल, सजना आचार्य, अमृत आचार्य र कवीर श्रेष्ठ रहेका छन् । उनीहरुले सम्पूर्णलाई मिलाएर लैजान नेतृत्वलाई अनुरोध समेत गरेका छन् ।
जिल्ला अध्यक्ष राजेश भुसालले १३ पदाधिकारी सहित ३० सदस्य जिल्ला कार्यसमिति चयन गरेका छन् । तर, विधान मै नभएको वरिष्ठ उपाध्यक्ष समेत चयन गरेको केन्द्रिय सदस्य सुवास कोइरालाले बताए । ‘हाम्रो विधानमा वरिष्ठ उपाध्यक्ष राख्ने व्यवस्था छैन । सचिव, सह–सचिव र कोषाध्यक्ष एक/एक जना मात्र हुन्छन्,’ उनले भने, ‘सह–सचिव सात जना चयन भएका छन् । सचिव दुई जना यो विधान अनुसार छैन ।’
भदौ आठ गते मनोनित गरिएको ने.वि.स. चितवनको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश भण्डारी, उपाध्यक्षमा सागर सुवेदी, सचिवमा राजेश पौडेल र सिजन भट्ट रहेका छन् । त्यस्तै सह–सचिवमा राजेन्द्र क्षेत्री, समिर गुरुङ्ग, सुनिल पौडेल, भूवन सापकोटा, एनिक घिमिरे, प्रविन देवकोटा, चिरण भुसाल, कोषाध्यक्षमा विजय न्यौपाने मनोनित भएका छन् । सदस्यहरुमा सुदिप कुमाल, भावना कार्की, रोशन त्रिपाठी, स्वइच्छा अर्याल, डा.अभिशेक ढकाल, सुन्दर उप्रेती, घनश्याम महतो, प्रकाश गुरुङ्ग, सुविना साई, प्रभात श्रेष्ठ, आशिष न्यौपाने, प्रतिक्षा अधिकारी, पुष्प अधिकारी,
आरजु ढुंगाना, अनुप बगाले, राजिव सापकोटा र राजिव पाठक रहेका छन् । 
अध्यक्ष भुसालले विधान अनुसार नै नयाँ कार्यसमिति चयन गरिएको दावी गरेका छन् । विधान अनुसार नै काम गरेका छौँ । नाम नआएका केही मान्छेले विरोध गरेका हुन् । कार्यसमितिमा सबै अट्ने कुरा पनि हुँदैन,’ उनले भने ‘बाहिर आए जस्तो समस्या छैन ।’ कृते गरेर ज्ञापन पत्र बुझाएको उनको दावी छ ।
तीन महिना भित्र अधिवेशन गराउनका लागि नयाँ कार्यसमिति चयन गरिएको हो । राजनीतिक सहमतिका आधारमा नेविसंघको अधिवेशन गराउन निर्देशन दिएको जिल्ला सचिव धुर्व पोखरेलले जानकारी दिए । ‘कतिपय राजनीतिक सहमति गर्न यस्ता निर्णय हुन्छन् । सेन्ट्रल कमिटिमा पनि सात सय १० सदस्य बनाइएको छ,’ उनले भने, ‘व्यापक छलफल गरी सबैलाई मिलाएर लगेको भए हुने हो । अहिलेपनि सबैलाई मिलाएर लैजान अनुरोध गरेका छौँ।’


























