देश/प्रदेश
घरदैलोमै पुगेर विद्यार्थीको पढाइ र शैक्षिक अवस्थाबारे बुझ्दै जामुनाखर्क मावि

म्याग्दी, कात्तिक २३ –
म्याग्दीको बेनी नगरपालिका-६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले घरदैलोमै पुगेर विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गर्ने फरक अभ्यास सञ्चालन गरेको छ ।
दसैँतिहारको लामो बिदामा विद्यार्थीले घरमा कसरी समय बिताइरहेका छन् ?, गृहकार्य गरेका छन् कि छैनन् ?, पर्वसँगै प्रयोगात्मक सीप सिकिरहेका छन् कि छैनन् ?, घरमा पढ्ने वातावरण कस्तो छ ? अभिभावकले पढाइप्रति कस्तो चासो राख्नुभएको छ ? लगायत यी प्रश्नको जवाफ खोज्दै विद्यालयले घरदैलो अभियान सञ्चलन गरेको हो ।
दसैँ र तिहारबीचको लामो बिदाको समयलाई सदुपयोग गर्दै विद्यार्थीको घरमै पुगेर उनीहरूको पठनपाठन र क्रियाकलापको अवस्था बुझ्ने उद्देश्यले अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिएको विद्यालयका शिक्षक गणेश केसीले बताउनुभयो । यही कात्तिक १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत विद्यालयको सेवा क्षेत्रका विभिन्न बस्ती र समुदायमा पुगेर शैक्षिक अवस्थाको अनुगमन गर्नाका साथै अभिभावकसँग छलफल गरिएको उहाँको भनाइ छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक र पूर्वविद्यार्थीको प्रतिनिधित्व रहेको टोलीले घरघरमा पुगेर विद्यार्थीको गृहकार्य, पठनपाठन, घरको वातावरण र बिदाको समयमा उनीहरूले गरिरहेका गतिविधिबारे जानकारी लिएको शिक्षक केसीले बताउनुभयो ।
अध्ययनलाई निरन्तरता दिन टोलीले विद्यार्थी र अभिभावकलाई सुझाव तथा परामर्श दिनाका साथै विद्यालयको शैक्षिक सुधारका विषयमा अभिभावकसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियाका क्रममा अभिभावकले आफ्ना अनुभव, अनुभूति र सुझाव प्रस्तुत गरेका थिए । विद्यालयले आगामी योजना र शैक्षिक सुधारका प्रयासबारे पनि अभिभावकलाई जानकारी गराएको थियो ।
विद्यालयको नियमित पठनपाठन सञ्चालन भइरहेका बेला मात्र विद्यार्थीको शैक्षिक अवस्था बुझ्ने परम्परागत अभ्यासभन्दा बिदाको समयमा घरमै पुगेर उनीहरूको अध्ययन र पारिवारिक वातावरण बुझ्ने प्रयासलाई विद्यालयले नयाँ अभ्यासका रूपमा अघि बढाएको हो ।
विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले बिदाको समयमा विद्यार्थीले घरमा गर्ने क्रियाकलाप र अध्ययनको अवस्थाबारे प्रत्यक्ष जानकारी लिँदै अभिभावकसँग अन्तरक्रिया गर्दा शैक्षिक उपलब्धि वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार विद्यार्थीको सिकाइमा विद्यालयको प्रयाससँगै घरपरिवारको भूमिका पनि महत्वपूर्ण हुने भएकाले अभिभावकसँगको सम्बन्ध र सहकार्यलाई प्राथमिकता दिइएको हो ।
कार्यक्रमका क्रममा विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावक, समाजसेवी, बुद्धिजीवी तथा सरोकारवालाबाट उत्साहजनक सहभागिता र विद्यालयप्रति सद्भाव प्राप्त भएको शिक्षक केसीले बताउनुभयो । घरदैलो कार्यक्रमले विद्यार्थीको पढाइप्रति अभिभावकको चासो बढाउनाका साथै विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय र आर्थिक पक्ष सुधारका लागि आवश्यक सुझाव सङ्कलन गर्न सहयोग पुगेको उहाँको भनाइ छ ।
विद्यालयको सेवा क्षेत्रका अधिकांश बस्तीमा पुगिसकेको टोलीले बाँकी रहेका स्थानमा पनि छिट्टै भेटघाट कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । भेटघाटका क्रममा प्राप्त सुझावलाई विद्यालयको आगामी योजना र सुधारका कार्यक्रममा समेट्दै कार्यान्वयन गर्दै जाने विद्यालयले जनाएको छ ।
विद्यार्थीको सिकाइलाई कक्षाकोठाभित्रको शिक्षणमा मात्र सीमित नराखी घरको वातावरण, अभिभावकको चासो र समुदायको सहभागितासँग जोड्ने जामुनाखर्क माविको यो प्रयासले विद्यालय र समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
























