देश/प्रदेश

दुई दशकदेखि तरकारीको बेर्ना उत्पादनमा राजकुमार

०
Banner

कञ्चनपुर, कात्तिक २३ –

कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । उहाँले तरकारीको बेर्नासँगै गहुँ र धानको बीउ पनि बिक्री गरेर मनग्य आम्दानी गर्दै आउनुभएको हो ।

परम्परागत रूपमा गहुँ र धानखेतीसँगै उहाँले विभिन्न जातका तरकारीको बेर्ना उत्पादनलाई आम्दानीको स्रोत बनाउनुभएको छ । उहाँले प्याज, टमाटर, बन्दा, काउली, खुर्सानीलगायत विभिन्न प्रजातिका तरकारीको बेर्ना उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ ।

“गहुँ र धान खेती बुबाको पालादेखि नै गर्दै आएको हुँ, तरकारीको बेर्ना उत्पादनमा लागेको पनि २० वर्ष भयो,” रानाले भन्नुभयो, “बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुन्छ अरू आम्दानीको स्रोत छैन यसैबाट घरखर्च चलेको छ ।” उहाँले दुई बिघा आफ्नै जग्गा र दुई बिघा अधियाँमा गहुँ र धानखेती गर्दै आउनुभएको छ ।

गहुँ र धानको बीउ बिक्रीबाट मात्रै वार्षिक रु चार लाख आम्दानी गर्दै आएको रानाले बताउनुभयो । “गहुँ र धानको बीउ बिक्रीबाट वार्षिक रु दुईरदुई लाख आम्दानी हुन्छ”, रानाले भन्नुभयो, “२० देखि २५ हजारको बेर्ना बिक्री गर्छु ।” उहाँले यस वर्ष प्याजको बेर्ना मात्रै रु २५ हजारको बिक्री गरेको जानकारी दिनुभयो । यसबाहेक अन्य बन्दा, काउलीलगायत तरकारीको बेर्ना बिक्रीबाट रु एक लाखसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ ।

बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुने बताउँदै उहाँले स्वदेशमा कृषि कर्मबाट पनि सहज जीविकोपार्जन गर्न सकिने सन्देश युवालाई दिनुभयो । “तरकारीको बेर्ना बिक्रीबाट घरखर्च चल्छ । प्रतिबोट रु दुईदेखि रु तीन रुपयाँसम्म बिक्री गर्छु”, उहाँले भन्नुभयो, “बिक्रीका लागि समस्या छैन, गाउँघरमा किन्ने आउनुहुन्छ, बजार जानु पदैन ।”

गहुँ र धानको बीउ गाउँमै बिक्री हुने गरेको रानाको भनाइ छ । “घर नजिकै उदयदेव सहकारीको बीउ प्रशोधन केन्द्र छ त्यहा गहुँ र धानको बीउ बिक्री गर्छु”, उहाँले भन्नुभयो, “मेरो कुनै रोजगारी छैन खेती र तरकारीको बेर्ना बिक्री गरेर अर्को पटक खेती गर्नमा लगानी गर्छु । छोराछोरीको पढाइ र घरखर्च सबै चलेको छ ।”

उहाँको व्यवसायले गाउँमा तरकारी खेती गर्ने अन्य किसानलाई पनि सहज बनाएको छ । विभिन्न जातका तरकारीका बेर्ना गाउँमै उपलब्ध हुने भएपछि तरकारी खेती गर्ने किसानलाई सहज भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>