चितवन विशेष
चितवन प्रशासन सडक सुरक्षाको सन्देशसहित आज देउसी भैलो र रङ्गोली कार्यक्रम गर्दै

चितवन, कार्तिक २३–
तिहार पर्वलाई मर्यादित, व्यवस्थित र संस्कारयुक्त बनाउँदै सडक सुरक्षाबारे जनचेतना फैलाउने उद्देश्यले चितवनमा देउसी भैलो तथा रङ्गोली कार्यक्रम आयोजना हुने भएको छ।
जिल्ला सुरक्षा समिति चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त आयोजनामा आज (सोमबार) भरतपुर–१० स्थित, चौबिसकोठीमा कार्यक्रम हुन लागेको हो। कार्यक्रमअन्तर्गत साँझ ४ बजेदेखि ४ः३० बजेसम्म रङ्गोली बनाउने कार्यक्रम हुनेछ। त्यसपछि साँझ ४ः३० बजेदेखि ६ बजेसम्म सडक सुरक्षाका लागि देउसी भैलो कार्यक्रम सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
तिहार पर्वलाई मर्यादित र व्यवस्थित बनाउनुका साथै सडक सुरक्षाको महत्त्वबारे सर्वसाधारणलाई सचेत गराउने लक्ष्य राखिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालय चितवनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई तिहारको शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित भई शोभा र हौसला बढाइदिन आग्रह गरेको छ।
कार्यक्रममा सहभागी भई सडक सुरक्षाको सन्देश फैलाउन आयोजकले सबैलाई अनुरोध गरेको छ।
























