चितवन विशेष
आज रवि लामिछानेको सार्वजनिक सुनुवाई, नारायणी अनलाइनमा प्रत्यक्ष प्रसारण हुने

चितवन, भदौ १०-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले आज सार्वजनिक सुनुवाई गर्दै छन् । जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने मान्यताका साथ सार्वजनिक सुनुवाई गर्न लागेको लामिछानेले बताए । सार्वजनिक सुनुवाईमा पार्टीको झण्डा, व्यानर, लोगो वा पोसाक प्रयोग नगरी उपस्थित हुन पनि उनले आग्रह गरेका छन् ।
सार्वजनिक सुनुवाईका लागि लामिछाने शनिबार नै चितवन आएका हुन् । नारायणी कला मन्दिरमा दिउँसो साढे १२ बजेदेखि सुरु हुने सार्वजनिक सुनुवाईको नारायणी अनलाइनले प्रत्यक्ष प्रसारण गर्ने छ । अनलाइनको इन्टरनेट पार्टनरमा वर्ल्ड लिंक कम्युनिकेशन रहेको छ ।
सार्वजनिक सुनुवाईमा विभिन्न पालिकाका प्रशासकिय प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुलाई निमन्त्रणा गरिएको लामिछानेको स्वकिय सचिव प्रकाश सिग्देलले बताए । निर्वाचनमा गरेको वाचा अनुसार नै लामिछानेले हरेक चार महिनामा सार्वजनिक सुनुवाई गर्ने सिग्देलले बताए । चितवन क्षेत्र नं २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन् ।
जनताबाट निर्वाचित सांसदले सार्वजनिक सुनुवाई गर्न लागेको सम्भवत यो पहिलो पटक हो ।

























