चितवन विशेष
मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाउन १० घण्टा लाग्ने

चितवन, भदौ ०४-
नारायणगढ-मुग्लिन सडक खण्डमा गएको पहिरो हटाउन १० घण्टा लाग्ने अनुमान गरिएको छ । इच्छाकामना गाउँपालिका ६ स्थित स्थित नाम्सी पुल नजिक गएको ठुलो पहिरो हटाउन हालको अवस्थामा १० घण्टा लाग्ने सडक विभागले जानकारी दिएको छ । आज (सोमवार) ८ बजेर पाँच मिनेटमा पहिरो खसेको थियो ।
पहिरो खस्दा साथ तयारी अवस्थामा राखिएको डिभिजन सडक कार्यालयको एक्साभेटर पुगेको थियो । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । यात्रा गर्दा बैकल्पिक सडक प्रयोग गर्न विभागले अनुरोध गरेको छ ।
‘पहिरोको मात्रा र हालको अवस्था हेर्दा अन्दाजी १० घण्टा जति समयमा सडक आवागमन सुचारु हुन सक्ने भएकाले यात्रुहरुलाई सोहि बमोजिम आफ्नो यात्रा तय गर्नु हुन सादर अनुरोध छ’–सडक विभागले आफ्नो वेवसाइडमा लेखेको छ । सडकको माथिल्लो भागबाट लगातार ढुङ्गा सहितको पहिरो खसिरहेकाले सडक खुलाउने कार्यमा असहजता आएको उसले बताएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण पटक पटक अबरुद्ध हुँदै आएको छ ।
























