चितवन विशेष
हेटौँडा–भरतपुर–बर्दघाट २२० केभि प्रसारण लाइनको उद्घाटन भोलि, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

चितवन, भदौ ४-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भोलि चितवन आउनुहुने भएको छ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभि प्रसारण लाइन तथा मस्र्याङ्दी कोरिडोरको न्यू न्यू २२० र केभि जिआइएस सब स्टेशनको उद्घाटन गर्न चितवन आउन लाग्नुभएको हो । सब स्टेशनको उद्घाटन भोलि विहान साढे ११ बजे आँपटारीमा हुने भएको छ । उहाँसंगै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि आउनुहुने भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो।
प्रसारण लाइनले एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ। २२० केभी डबल सर्किट प्रसारण लाइनलाई सुरुमा १३२ केभीमा सञ्चालनमा ल्याइने छ।
प्रसारण लाइनले अब भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाह गर्न थप सहज हुने बताईको छ । भरतपुरबाट बर्दघाटसम्म विद्युत् पठाउनका लागि पुरानोसहित ३ वटा सर्किट भएका छन्।
२२० केभीको लाइनलाई हाल १३२ केभीमा चार्ज गर्दा एउटा सर्किटबाट १७० मेगावाटसम्म विद्युत् प्रवाह हुन सक्छ। पुरानो सिङ्गल सर्किटबाट करिब ९० मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो। भरतपुर–बर्दघाट प्रसारण लाइनको लम्बाइ ७४ किलोमिटर छ। प्रसारण लाइनमा २४६ वटा टावर छन्। आयोजना निर्माणका लागि सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेड कम्पनीसँग २०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो। कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता २०७४ जेठमा रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेण्डर गरेको थियो। बाँकी रहेको काम गर्न चिनियाँ कम्पनी हेङटन अप्टिक्स् इलेक्ट्रिकसँग२०७५ साउनमा ठेक्का सम्झौता भएको थियो।
भरतपुरबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनको सिंगल सर्किटलाई एक वर्षअघि सञ्चालनमा ल्याइएको थियो।
भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापीङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको थियो।
भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर–बर्दघाट २२० केभीको लाइनसँग जोडिएको थियो। प्रसारण लाइनको क्षमता सुदृढीकरण र नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौडा–भरपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको थियो।
२०७८ कात्तिकबाट विश्व बैंक आयोजनाबाट पछि हटेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो। आयोजनालाई हेटौंडा–भरतपुर र भरतपुर–हेटौंडा खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो। हेटौंडा–भरतपुर खण्ड निर्माण सम्पन्न भई एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको छ।

























