राजनीति

कोशी प्रदेश सरकार ढाल्ने रणनीतिमा एमाले, मुख्यमन्त्री थापाले पाउलान् विश्वासको मत ?

Banner

विराटनगर, भदौ ४-

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । बैठकको कार्यसूची तय गर्न उपसभामुख सिर्जना दनुवारले बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छिन् ।

यसैबीच प्रतिपक्षी दल एमाले र राप्रपाले थापालाई विश्वासको मत प्राप्त हुन नदिन उपसभामुख दनुवारलाई अनुपस्थित गराउने सत्तापक्षले आशङ्का गर्दै आएको छ । यसअघि नै एमालेले आफ्ना ७ र राप्रपाले २ जना जेष्ठ सदस्य सांसदहरूलाई विदामा राखेको छ । उपसभामुख अनुपस्थित भएको अवस्थामा जेष्ठ सदस्यले सभा संचालन गर्नुपर्ने भएकोले एमाले र राप्रपाले उनीहरूलाई विदामा राखेको हो ।

सभा संचालन गठबन्धन दलकै सांसदले गर्नुपर्ने अवस्था आए मुख्यमन्त्री थापालाई बहुमत (४७) संख्या पुर्याउन कठिन हुनेछ । सत्तापक्षमा रहेका ४७ सांसदमध्ये १ सांसदले सभा संचालन गर्नुपरेको अवस्थामा गठबन्धनलाई १ सांसद अपुग हुने देखिन्छ ।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् । एमाले थापा नेतृत्वको सरकार ढालेर पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>