कालिका

चितवनको कालिका नगरपालिकामा ५५ सयवटा पशुलाई लम्पी स्किन विरुद्धको भ्याक्सिन

Banner

चितवन,भदौ ३-

कालिका नगरपालिका क्षेत्रभित्रका ५४ सय ५० वटा गाई, भैसीमा लम्पी स्किन विरुद्धको भ्याक्सिन लगाइसकेको छ । साउन २५ गतेदेखि नगरपालिकाले अभियानकै रुपमा किसानहरुको गोठगोठमा प्राविधि सहितको टोलीलाई भ्याक्सिन लगाउन पठाएको हो ।

नगरपालिका अन्तगर्त पशु शाखा प्रमुख इश्वरी प्रसाद पौडेलका अनुसार कालिकाको वडा नं. १ देखि ७ नम्बर वडाका किसानले पालेको गाई, भैसीलाई भ्याक्सिन लगाउने काम सकिएको छ । वडा नं. ८, ९, १० र ११ वडामा अहिले भ्याक्सिन लगाउने काम जारी छ ।

नगरपालिकाले लम्पी स्किन विरुद्धको भ्याक्सिनसँगै आवश्कता अनुसार जुकाको औषधी समेत निशूल्क दिइरहेको छ । भ्याक्सिनका कारण कुनै साईड इफेक्ट कतै देखिएको छैन । सुरुमा किसानहरु भ्याक्सिन लगाउन आनाकानी गरेका थिए । दुग्ध घट्ने डर किसानहरुमा थियो पशु शाखा प्रमुख पौडेलले भन्नुभयो – ‘अहिले किसानहरुले बुझे, हाम्रो गोठमा भएका गाईभैसीलाई पनि लगाईदिनुस भन्न थालेका छन् ।’

प्राविधिक टोलीले गोठमा देखिने फोहोर लगायत गाईभैसीलाई दिने दानापानीको विषयमा पनि सम्झाउँदै हिडेका छन् । प्राविधिक टोलीसँगै जनप्रतिनिधिहरु पनि किसानको गोठगोठ पुगिरहेका छन् । वडा नं. ८ मा अब ३ वटा टोलमा भ्याक्सिन लगाउन बाँकी छ । यो वडामा साउन २७ गतेदेखि अभियान सुरु भएको थियो । १७ वटा टोल मध्ये ३ वटा मात्रै बाँकी रहेको वडा नं. ८ का वडा अध्यक्ष चित्रवहादुर मगरले जानकारी दिनुभयो । वडा नं. ८ मा मात्रै अहिले सम्म ६ सय ७५ वटा गाईभैसीमा भ्याक्सिन लगाइएको छ । लम्पी स्किनको संक्रमणका कारण यो वडामा केही गाईहरु मरेको भएपनि अहिले पूर्ण रुपमा नियन्त्रणमा आईसकेको वडा अध्यक्ष मगरको दावी छ ।

नगरपालिकाको यो अभियानलाई स्थानीय दुग्ध उत्पादक सहकारी संस्थाले राम्रो साथ दिइरहेको छ । वडा नं.८ देखि माथिल्ला वडाहरुमा उत्थान दुग्ध उत्पादक सहकारी संस्थाले प्राविधिक टोलीहरुलाई सहयोग गरिरहेको छ । कुनैपनि गाईभैसी भ्याक्सिन लगाउनबाट छुट्नुहुँदैन भनेर सहकारीले आफ्नै एकजना कर्मचारीलाई प्राविधिक टोलीसँगै परिचालन गरेको छ । प्राविधिक टोलीलाई सहकारीकै प्रतिनिधिले किसानहरुको घरघर सम्म लैजाने काम गरिरहेको छ ।

सहकारीका अध्यक्ष राजेन्द्र ढुंगानाका अनुसार लम्पी स्किन महामारीका कारण आतिएका किसानहरुले ठूलो राहतको महशुसगर्न थालेका छन् । किसानहरुको पीडामा नगरपालिका सहयात्री बनेर उभिएको छ उहाँले भन्नुभयो –अहिले किसानहरु खुशी छन् । नगरपालिकाको यो अभियानमा सहकारी सुरुवातनै देखिनै सँगै छ ।

कालिका नगरपालिका दुग्धमा आत्मनिर्भर पालिका भएकाले दुग्ध उत्पादन घट्न दिन नहुने तर्फ पालिकाले खेलेको भूमिका प्रशंसागर्न योग्य रहेको सहकारीका अध्यक्ष ढुंगानाले बताउनुभयो । कालिकामा दैनिक १२ हजार लिटर दुग्ध संकलन हुँदै आएको छ ।

नगरक्षेत्र भित्रका किसानहरुले पालेको पशुहरुको सुरक्षाका लागि नगरपालिका कहिलै पछाडिनपर्ने नगर प्रमुख विनोद रेग्मीले बताउनुभयो । किसानको पशु सुरक्षणगर्ने जिम्मा नगरपालिकाको हो –‘ तपाईहरु ढुक्कसँग पशुपालनमा लाग्नुस’ नगर प्रमुख रेग्मीले भन्नुभयो । लम्पी स्किन महामारी विरुद्धको भ्याक्सिन मात्रै नभई पशुहरुमा लाग्ने अन्य रोगहरुको उपचारका लागि पनि नगरपालिकाले किसानलाई सघाउने उहाँले बताउनुभयो । भ्याक्सिन सेवाको प्रभावकारिताबारे अनुगमनगर्न किसानको घर गोठमा पुग्नुभएका नगर प्रमुख रेग्मीले किसानलाई आवश्यकताका आधारमा पालिकाले सहयोगगर्दैै आएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>