राजनीति
योग्यता तोकेर रास्वपाले माग्यो प्रदेश र जिल्ला अनुशासन आयोगका लागि आवेदन

काठमाडौँ, साउन ३२-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश र जिल्ला अनुशासन आयोग गठनका लागि पदाधिकारी र सदस्य माग गरेको छ। रास्वपाले साउन ३० मा प्रदेश र जिल्ला अनुशासन आयोग गठनका लागि पार्टीको प्रदेश, जिल्ला, पालिका र वडाको नेतृत्वलाई परिपत्र गरी सात दिनभित्र आवेदन दिन आह्वान गरेको हो
पार्टी सदस्यता लिएकामध्येबाट खुला आवेदन माग गरी पदपूर्ति गर्ने सूचना जारी गरिएको रास्वपा अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटाले बताए । ‘पार्टीका सदस्य एवं पदाधिकारीहरूलाई असल, आचरणयोग्य बनाउन साथै अनुशासन र आचरण उल्लङ्घन गरेको अवस्थामा अनुसन्धान गर्ने, प्रमाण संकलन गर्ने र सजाय गर्न पार्टी विधान २०७९ को धारा ५५ (५) च को अधिनमा रही केन्द्रीय अनुशासन आयोग नियमावली, २०८० जारी भएको हुँदा उक्त नियमावलीको अधिनमा रही यस पार्टीको सदस्य लिएकाबाट पदपूर्ति गरिने छ,’ रास्वपाको सूचनामा भनिएको छ।
रास्वपाको नियमावलीअनुसार प्रदेश अनुशासन आयोग ५ सदस्यीय हुने छ। जसमा प्रदेश प्रमुख, उपप्रमुख, सचिव र २ जना सदस्य हुने व्यवस्था छ। देवकोटाका अनुसार पदाधिकारीहरू कम्तीमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने र प्रत्येक प्रदेशमा एक जना महिला र एकजना कानुनमा स्नातक गरेको हुनुपर्ने छ।
जिल्ला अनुशासन समिति ३ सदस्यीय हुने छ। जसमा एकजना प्रमुख र दुई जना सदस्य रहने व्यवस्था गरिएको छ। प्रमुखको हकमा स्नातक गरेको हुनुपर्ने र सदस्यमध्ये एकजना कानुनको क्षेत्रमा अध्ययन र अनुभव भएको हुनुपर्ने छ । 



























