राजनीति
ओलीको आरोपः सुन तस्करी र ललिता निवास छाडेर सरकारले रिसइबी साँध्न शर्मालाई पक्राउ गर्यो

काठमाडौँ,साउन २८-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी र ललिता निवास छाडेर सरकार एउटा व्यक्तिसँग रिसइबी साँध्न नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको आरोप लगाएका छन् । सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुन तस्करी र ललिता निवास छाडेर सरकार एउटा व्यक्तिसँग रिसइबी साँध्न नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको आरोप लगाएका हुन् ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सिआइबीले शर्मालाई पक्राउ गरेपछि ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘सुनिल शर्माबारे छानबिन नगर भनेको होइन । अदालतले त तत्कालै छाडिदियो नि । समात्नै नहुने थियो, छानबिनबाट ठहर्ने नठहर्ने त थाहा थिएन । हतार हतार उनलाई पक्राउ गरेर गिरफ्तार गर्नुपर्ने किन ?’
उनले भने, ‘सुनिल शर्माको सर्टिफिकेटको म जाँचकी होइन, हामीले सर्टिफिकेट नजाँच भनेका छैनौँ । एउटा सांसदलाई कार्यकर्ताबाट उजुरी हालेर गिरफ्तार गरिएको छ । के सुनिल शर्मा जस्तो हस्पिटल चलाएको सांसद यस्ता कुरामा देश छोडेर जाला ?’



























