राजनीति
ललिता निवास प्रकरणमा मेरो पालामा पनि गल्ती देखिएका छन्, छानबिन गर्न म पूरै सहयोग गछुः भट्टराई

सुर्खेत, साउन २७-
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उच्चस्तरीय छानबिन आयोग बनाएर भ्रष्टाचारको छानबिन गर्नुपर्ने बताएका छन्। शनिबार सुर्खेत आएका भट्टराईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रत्येक बर्ष बाहिर आएको भ्रष्टाचारका काण्डको आयोगमार्फत् निष्पक्ष छानबिन गर्नुपर्ने बताए।
‘भ्रष्टाचारको विगविगी पछिल्लो समय पनि कमी आएको छैन, प्रत्येक बर्ष ठूला काण्ड बाहिर आएका छन्,’ भट्टराईले भने, ‘यसलाई एउटाएउटा काण्ड मात्र छानबिन गर्ने होईन, उच्चस्तरीय छानबिन आयोग बनाएर समग्र रुपमा सबै घटनाको निष्पक्ष छानबिन गर्नुपर्छ।’
उनले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग अत्यन्तै कमजोर भएकाले यसलाई संसदप्रति प्रत्यक्ष रुपमा जिम्मेवार हुनेगरि आफ्नै संरचना बनाउने व्यवस्था गर्नुपर्ने बताए। उनले कार्यकारीको छाँयाँ नपर्नेगरी भ्रष्टाचारका काण्डहरुको छानबिन गर्नुपर्नेमा जोड दिए।
ललिता निवास प्रकरणबारे भट्टराईले आफ्नै पालमा केही गल्ती भएको र छानबिनमा आफू तयार रहेको पनि बताए।
‘यो प्रकरणमा मेरो पालामा पनि केही गल्ती देखिएका छन्, यो प्रक्ररणमा छानबिन गर्नुपर्छ, त्यसको निम्ति म पूरै सहयोग गर्छु।’


























