राजनीति
अहिलेको साइबर युगमा स्मार्ट पार्टी बनाउन जरुरी छः वर्षमान पुन

काठमाडौं,साउन २७-
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादीलाई स्मार्ट पार्टी बनाउने कार्ययोजनाको चर्चा गरेका छन् । पार्टी सम्वद्ध महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले माओवादीलाई स्मार्ट पार्टी बनाउने कार्ययोजनाको चर्चा गरेका हुन् ।
उनले माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउने अवधारणा अघि सारेका छन् । पुनले वर्तमान साइबर युग सुहाउँदो स्मार्ट पार्टीले मात्र अहिलेको अवस्थामा मुलुकको नेतृत्व गर्न सक्ने र पार्टी पुनः निर्माण सम्भव भएको बताए ।
पुनले भने, ‘समयअनुसार चल्न नसक्ने पार्टीहरु इतिहासमा सीमित भएका छन् । अहिलेको साइबर युगमा स्मार्ट पार्टी बनाउन जरुरी छ, त्यस्तो पार्टीले मात्र आजको युगको सही प्रतिनिधित्व गर्न सक्छ ।’
विश्व चौथो चरणको औद्योगिक क्रान्तिको सम्मुखमा रहेको भन्दै पुनले यस्तो अवस्थामा कम्युनिष्टहरुले डिजिट प्रविधि र कृत्रिम बौद्धिकताको समेत प्रयोग गरेर स्मार्ट पार्टी निर्माण गर्नुपर्ने औंल्याए । लेनिनले कम्युनिष्ट पार्टीहरुको निम्ति संगठनको रुप सर्वथा अचुक र अपरिवर्तनशील हुन नसक्ने उल्लेख गरेको चर्चा गर्दै पुनले संघर्षको स्थिति र विकासको प्रक्रिया अनुरुप संगठनको रुपहरुको खोजी गरिएको बताए । यस्तै लक्षित जनसमुदाय तथा आफ्नो पार्टी र संगठनमा भर पर्र्नुपर्ने चिनियाँ कम्युनिष्ट नेता माओको भनाइ अनुसरण गर्न पार्टी पंक्तिलाई निर्देशन दिए ।


























