राजनीति
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर निर्मार्ण गर्न ७ करोड दिने

बुटवल, साउन २६-
लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीमा अवस्थित मायादेवी मन्दिरको जीर्णोद्धार तथा विस्तारका लागि ७ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्। चौतर्फी विरोधका बीच सरकारले हालैमात्र नियुक्त गरेका उपाध्यक्ष लामाले सरकारको आर्थिक सहयोग बिना दाताहरूको सहयोगमा मायादेवी मन्दिरको जीर्णोद्धार तथा मन्दिरमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्।
लुम्बिनी विकास कोषको शुक्रबार बसेको बैठकमा उपाध्यक्ष लामाले मन्दिरको जीर्णोद्धारको लागि स्थापना गरिने कोषमा व्यक्तिगत रूपमा ७ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।
हाल मायादेवी मन्दिर जीर्ण भएकाले पानी चुहिने गरेको छ भने कुनै पनि बेला मन्दिर भत्किन सक्ने जोखिममा छ। उपाध्यक्ष लामाले पानी चुहिने र जुनसुकै बेला पनि भत्किन सक्ने जोखिममा रहेको मायादेवी मन्दिरको जीर्णोद्धारको लागि कोष स्थापना गर्ने र त्यसमा सरकारको आर्थिक सहयोग नलिने प्रस्ताव गरेका थिए।
उपाध्यक्ष लामाको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य र योजना प्रमुख सरोज भट्टराई सहभागी थिए। बैठकमा लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौं स्थापना गर्ने सम्बन्धमा आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय समेत भएको छ।


























