राजनीति
उच्चस्तरीय छानबिन समिति बनाउँदा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः वामदेव

काठमाडौं, साउन २४-
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउँदा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्। गौतमले राष्ट्रिय सभा बैठकमा बोल्दै अहिले सिआइबीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने बताएका हुन्।
‘उच्चस्तरीय छानबिन समिति बनाउनेबित्तिकै त्यसको कार्यादेश, कार्यक्षेत्र हुन्छ, कहाँसम्म प्रवेश गर्ने ? त्यो प्रधानमन्त्रीसम्म प्रवेश गर्छ, अर्थमन्त्रीमा पनि प्रवेश गर्छ, गृहमन्त्रीसम्म पनि प्रवेशको माग गर्छ। निलम्बनको व्यवस्था त छैन हाम्रोमा, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, अर्को प्रधानमन्त्री निर्वाचित गर्ने प्रक्रिया सुरू हुन्छ। जसले यो छानबिनलाई ओझेलमा पारिदिन्छ। त्यसैले कामै गर्न सक्ने स्थिति हुँदैन,’ उनले भने।
अहिलेको भण्डाफोरले दुई वटा सन्देश दिएको उनले बताए। उनका अनुसार एकातिर सरकारले नियन्त्रणमा ल्याएको छ, छानबिन गर्दै छ र यसलाई अन्त्य गर्नको निम्ति प्रयत्न गरिरहेको भन्ने सन्देश गएको छ भने अर्कातिर नेपाल संसारकै तस्करहरूले खुसीयाली मनाउने देश हो भन्ने सन्देश गएको छ।



























