राजनीति

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव बनेको दुई वर्षमै काठमाडौंमा तीन करोडको घर

Banner

काठमाडौँ,असार ११-

पशुपति क्षेत्र विकास कोषकै पदाधिकारीको मिलेमतोमा मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरी राख्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले अहिले छानबिन गरिरहेको छ । यो प्रकरणको छानबिन चल्दै गर्दा सोमबार आयोगले कोषकै पूर्व सदस्य–सचिव डा. प्रदीप ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जलहरी प्रकरणमा आयोगले कोषका बहालवाला सदस्य–सचिव डा. मिलन कुमार थापालगायतसँग बयान लिइसकेको छ । संसदीय समितिले समेत यसबारे चासो देखाउँदै थापासँग सोधपुछ गर्यो । थापा त संसदीय समितिमा जवाफ दिँदा रोए नै । जलहरी प्रकरणमा उनको संलग्नता छ वा छैन त्यो आयोगको थप छानबिनले देखाउला नै । सोमबार आयोगले मुद्दा दर्ता गरेका ढकालको सम्पत्ति विवरण आश्चर्यचकित पार्ने खालको देखिन्छ । २०७४ साउन ३२ गते कोषको सदस्य– सचिवमा नियुक्ति भएका ढकाल र उनको परिवारको नाममा विभिन्न बैंक खातामा जम्मा ११ हजार ५ सय १९ रुपैयाँ ७६ पैसा मात्रै देखिन्छ । २०७८ साउन ३१ मा कोषको सदस्य–सचिवबाट अवकाश पाउँदासम्म ढकालको सम्पत्ति ७ करोड ८४ लाख ५ हजार ९४ रुपैयाँ १२ पैसा देखिएको छ ।

आयोगले सूक्ष्म अनुसन्धान गर्दा उनी र उनको परिवारको नाममा रहेको बैंक खातामा रहेको मौज्दात रकम, पारिश्रमिक बचत, प्रोत्साहन भत्ता, बैठक भत्ता, भ्रमण भत्ता, अतिरिक्त सुविधा, सेवाबाट अवकाश भएपछि नागरिक लगानी कोषबाट प्राप्त रकम, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकम, शेयर बिक्रीबाट प्राप्त रकम र विभिन्न व्यक्तिहरूसँग लिएको व्यक्तिगत सापटीसमेत गरी आयतर्फ स्रोत खुलेको रकम ६ करोड ३९ लाख ९३ हजार तीन सय १२ रुपैयाँ ४१ पैसा हुन आउँछ । आयको अनुपातमा व्यय तुलना गर्दा ढकालले एक करोड ४४ लाख ११ हजार ७ सय ८१ रुपैयाँ ७१ पैसाको स्रोत नखुल्ने आयोगको अनुसन्धानबाट देखिन्छ ।

चपली हाइटमा तीन करोडको बंगला

कोषको सदस्य–सचिव हुनअघि ढकालको नाममा कास्की शुशुवामा ४ आना तीन पैसा दुई दाम जग्गा तथा भक्तपुर सिपाडोलमा एक रोपनी जग्गा र बैंकमा ११ हजार ५ सय १९ रुपैयाँ ७६ पैसा मात्रै थियो । तर चार वर्षको अवधिमा ढकालले बूढानीलकण्ठस्थित चपलीहाइटमा आठ आना जग्गामा तीन करोड ३८ लाख २६ हजार ८ सय ७८ रुपैयाँ २४ पैसा लगानी गरेर भव्य बंगला बनाए । २०७६ जेठमा जग्गा खरिद गरी बनाएको बगैँचा कोलोनीमा महँगो फर्निचरसँगै घरमा ६ वटा एयरकन्डिस्नर (ए.सी) जडान गरेका छन् । उच्चस्तरको अस्वाभाविक जीवनस्तर बिताइरहेका ढकालले सम्पत्तिको स्रोत देखाउन सकेनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>