चितवन विशेष
हिसान चितवनद्धारा कक्षा ११ र १२ को शुल्क समायोजन प्रक्रिया अघि बढाउन माग

चितवन, कार्तिक १४–
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), चितवनले भरतपुर महानगरपालिकालाई कक्षा ११ र १२ को शुल्क निर्धारण तथा समायोजन प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।
हिसान चितवनले शनिबार एक अपिल जारी गर्दै शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा नर्सरीदेखि १० सम्मको शुल्क समायोजन तथा निर्धारण प्रक्रिया अघि बढिसकेको भए पनि कक्षा ११ र १२ को शुल्क निर्धारणको विषय अझै अन्योलमा रहेको जनाएको छ ।
संस्थागत विद्यालय सञ्चालन गर्दा शिक्षक तथा कर्मचारीको पारिश्रमिक, शैक्षिक सामग्री, भौतिक पूर्वाधारको मर्मत तथा स्तरोन्नति, प्रविधिको प्रयोग र प्रयोगशाला व्यवस्थापनलगायतका खर्च निरन्तर बढ्दै गएको हिसानको भनाइ छ । यस्तो अवस्थामा शुल्क निर्धारणलाई केवल शुल्क वृद्धिको विषयका रूपमा मात्र नहेरी विद्यालयको वास्तविक सञ्चालन लागत, शिक्षक तथा कर्मचारीको न्यायोचित पारिश्रमिक, अभिभावकको आर्थिक अवस्था र विद्यार्थीले प्राप्त गर्ने शैक्षिक सेवाको गुणस्तरलाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने हिसानको भनाई छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा शिक्षक तथा कर्मचारीको पारिश्रमिक २१ प्रतिशत र महँगी भत्ता वृद्धि गरेकाले संस्थागत विद्यालयले समेत थप आर्थिक दायित्व व्यहोर्नुपर्ने अवस्था रहेको हिसानले स्मरण गराएको छ ।
हिसानले शुल्क निर्धारणका विषयमा सम्बन्धित सबै पक्षबीच तथ्य, औचित्य र कानुनी व्यवस्थाका आधारमा छलफल तथा संवाद गरी सहमतिमा पुग्नुपर्ने धारणा राखेको छ । साथै, शुल्क वृद्धिका विषयमा यसअघि नै छलफल भई निर्णय भइसकेको अवस्थामा शुल्क वृद्धि फिर्ताको माग गर्नु उचित नभएको उसको भनाइ छ ।
अपिलमा कक्षा ११ र १२ मा अध्यापनरत शिक्षक तथा कार्यरत कर्मचारीहरूको पारिश्रमिक, सेवा–सुविधा र वृत्ति विकासलाई समयानुकूल तथा न्यायोचित रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । हिसान चितवनले एउटै संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीबीच तहगत जिम्मेवारी र कार्यभारअनुसार न्यायोचित पारिश्रमिक व्यवस्थापन गर्न पनि शुल्क निर्धारणमा स्पष्टता आवश्यक रहेको जनाएको छ ।
संघले अभिभावकीय भूमिका निर्वाह गरिरहेको भरतपुर महानगरपालिकालाई कक्षा ११ र १२ को शुल्क निर्धारण तथा समायोजन प्रक्रिया यथाशीघ्र अघि बढाउन आवश्यक निर्णय गरिदिन आग्रह गरेको छ । हिसान चितवनले संस्थागत विद्यालयको व्यवस्थापन, विद्यार्थीको हित र गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि महानगरपालिका, अभिभावक, राजनीतिक दल, विद्यार्थी संगठन तथा सम्पूर्ण शैक्षिक सरोकारवालासँग संवाद र सहकार्य गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।
























