राजनीति

कांग्रेसमा सभापति र महामन्त्रीबीच ‘वार’

Banner

काठमाडौं, जेठ २३–

नेपाली कांग्रेसका सभापति र महामन्त्रीबीच अन्तरविरोध देखिएको छ । सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच सार्वजनिक तहमै अन्तरविरोध प्रकट भएको हो ।

महामन्त्रीद्वयले कार्यशैलीमाथि प्रश्न उठाएपछि सभापति देउवाले पार्टीलाई ठूलो बनाउँदा पनि गाली गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । शनिबार एक कार्यक्रममा देउवाले महामन्त्रीद्वय थापा र शर्माप्रति संकेत गर्दै आफ्नो नेतृत्वमा कांग्रेस ठूलो पार्टी बनेको अनदेखा नगर्न चेतावनी दिए ।

देउवाको नेतृत्वमा कांग्रेस गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पहिलो बनेको छ । ७५२ वटा पालिकामध्ये ३२९ पालिका (१८८ अध्यक्ष र १४१ प्रमुख) जितेर कांग्रेस पहिलो दलका रुपमा स्थापित छ । २०७४ मा नेपाली कांग्रेसले प्रमुख/अध्यक्ष गरी २६६ पालिकामा जितेको थियो । कांग्रेस २०७४ को तुलनामा ६३ बढी पालिकामा जिताएर देउवाले कांग्रेसलाई ‘कमब्याक’ गराएका थिए । अहिले कुल पालिकाको ४४ प्रतिशत हिस्सा कांग्रेसले ओगटेको अवस्था छ ।

कांग्रेसले १९० पालिकामा उपाध्यक्ष र ११० उपप्रमुखसहित ३ सय पालिकामा दोस्रो प्रमुख पद पनि जितेको छ । ७ हजार ६ सय ३३ मध्ये २ हजार ६ सय वडामा कांग्रेसको नेतृत्व छ ।

प्रदेशसभातर्फ पनि कांग्रेसकै बर्चस्व छ । बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा २७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा १९ सांसदसहित कांग्रेस पहिलो दलका रुपमा स्थापित छ । ०७४ मा कांग्रेस कुनै पनि प्रदेशमा पहिलो दल थिएन । अहिले कोशी प्रदेशमा २९, मधेस प्रदेशमा २२ र लुम्बिनी प्रदेशमा २७ सांसदसहित कांग्रेस दोस्रो स्थानमा छ ।

०७४ को भन्दा ०७९ मा कांग्रेसले सबै प्रदेशमा सांसदको संख्या बढाएको छ । ०७९ मा संघीय संसदमा पनि कांग्रेस पहिलो दलका रुपमा स्थापित छ । ०७४ मा सम्पन्न निर्वाचनमा २३ प्रत्यक्ष र ४० समानुपातिक गरी कांग्रेससँग प्रतिनिधिसभामा ६३ सांसदको उपस्थिति थियो । संसदको दोस्रो दल भए पनि कांग्रेससँग एक तिहाइ सांसद संख्या पनि थिएन ।

२०७९ मंसिरमा भएको निर्वाचनबाट संघीय संसदको चित्र फेरिएको छ । अहिले ५७ प्रत्यक्ष र ३२ समानुपातिक गरी ८९ जना सांसदसहित कांग्रेस पहिलो दलका रुपमा स्थापित भएकोमा वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा तनहुँ–१ गुमाएको छ ।

तीन प्रदेशमा सरकारको नेतृत्व गरेको कांग्रेस तीन वटा प्रदेशमा सत्ता साझेदार दलका रूपमा सरकारमा सहभागी भएको छ । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारमा गत चैत १७ मा सहभागी भएको कांग्रेसले ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेको छ । आफ्नो नेतृत्वमा प्राप्त भएको उक्त उपलब्धीलाई अनदेखा गरेर महामन्त्रीद्वय थापा र शर्मा विरोधमा उत्रिएको देउवाको गुनासो छ ।

उनले शनिबार महामन्त्री थापा र शर्मालाई शब्दको झटारो हानेका छन् । आफ्नो विरोध गरेरमात्रै पार्टी नबन्ने भन्दै महामन्त्रीद्वयलाई गाली गर्न छाडेर काम गर्न देउवाले जवाफ दिए । ‘मैले पार्टी ठुलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ,’ उनको भनाइ थियो ।

कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी रहेको कुरा नभुल्न देउवाले सचेत गराए । ‘नेपाली कांग्रेस ठूलो पार्टी भएको सत्य कुरा हो । स्थानीय तह, प्रदेश र केन्द्रमा हामी पहिलो पार्टी हो,’ उनी भन्छन्, ‘अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठुलो पार्टी भएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>