नवलपुर

नवलपुरका बैँकर ढकालको ‘जौवा’ उपन्यास सार्वजनिक

Banner

नवलपुर, चैत १२-

बैंकर तथा लेखक विष्णु ढकालको सामाजिक परिवेशनमा आधारित उपन्यास ‘जौवा’ सार्वजनिक भएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का ढकालले मध्य तराईको ग्रामीण परिवेशलाई समेटेर उपन्यास सार्वजनिक गरेका हुन् ।

नेपाली साहित्यको क्षेत्रमा पहाडबाट तराई बसाइँ सर्नेसहित आदिवासी समुदायको कथा लिएर साहित्यमा प्रवेश गरेका लेखक ढकाल लामो समयदेखि ग्रामीण बैंकिङ क्षेत्रमा कार्यरत छन् । यस उपन्यासमा छोटा र सरल वाक्यहरु रहेका भन्दै लेखक ढकालले पाठकलाई पढ्न र बुझ्न सहज हुने बताए । नेपालको मध्य तराईको एउटा गाउँको कथामा लेखिएको जौवा सरल भएको भन्दै ढकालले जौवाको अर्थ विन्दास किसिमको मान्छे, मनमौजी प्रकारको मान्छे भएको उल्लेख गरे ।

आञ्चलिकतामा आधारित रहेर लेखिएको उपन्यास भएकाले यस पुस्तक पढ्ने व्यक्तिले मध्य तराईको वस्तुस्थितिबारे बुझ्नसक्ने ढकालको भनाइ छ । ग्रामीण परिवेशमा बाल्यकालमा गरिने बाल्यक्रिडा, पौडी खेल्दाको अनुभव, पहिलो पटक टेलिफोन गर्दाको अनुभूतिहरु उपन्यासमा समावेश भएका छन् । उपन्यासको मुख्य कथा विद्यालयमा पढ्दै गरेकी एउटी किशोरीको भए पनि त्यहाँ अन्य परिवेश पनि समावेश भएका छन् ।

समाजमा घट्ने घटनाहरुमध्येको किशोरीलाई आफ्नै विद्यालयका प्रधानाध्यापकले बलात्कार गरेको र त्यस घटनापछि किशोरी आत्महत्या गर्न विवश भएको कथावस्तुलाई प्रमुखताका साथ जौवामा समेटिएको छ । ‘तराईका विषयवस्तुमा अन्य कृतिहरु पनि लेखिएका छन्’ लेखक ढकालले भने, ‘यद्यपि यहाँ पहाडबाट तराईमा बसाइँ सरेर आउने र आदिवासी समुदायसहित सबैको कथावस्तु समेटिएकाले अन्य कृतिहरुको भन्दा जौवामा फरक परिवेश पाइन्छ ।’ लेखक ढकालले जौवाभित्र विभिन्न ४८ वटा उपकथाहरु समावेश भएका जानकारी दिए ।

शिखा बुक्स काठमाडौँले प्रकाशन गरेको जौवा उपन्यासको विमोचन केही दिन अगाडि काठमाडौँमा गरिएको उल्लेख गर्दै लेखक ढकालले चाँडै नै गृह विमोचनको तयारीमा रहेको जानकारी दिए । उपन्यासमा समावेश गरिएका स्थानीय बोलीचालीको भाषाको शब्दार्थसहित राखिएको जौवाको मूल्य ५२५ रुपैयाँ रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>