Breaking News

केपी ओलीको प्रश्न– ‘ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! हामी मजाकका पात्र हौँ ?’

०
Banner

काठमाडौं, मंसिर २ –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताउनुभएको छ ।

पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरुलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाउनु भयो । राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने धम्की दिनु गैरजिम्मेवारपूर्ण भएको उहाँले बताउनु भयो । राणाशासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको राजनीतिक नेतृत्वलाई सामान्य रूपमा नलिन उहाँले चेतावनी समेत दिनुभयो । उहाँले कसैविरुद्ध अपराधको प्रमाण भेटिए कानूनी कारबाही गर्न आग्रह गर्नुभयो । तर पक्राउ गर्ने धम्की नदिन चेतावनी दिनुभयो । अध्यक्ष ओलीले गृहमन्त्री सुदन गुरुङले फाइल खोल्ने र १०१ जनालाई पक्राउ गर्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै सके सबैलाई थुन्न चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आज एउटा आतङ्कपूर्ण, त्रासमय आईजीपी, आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोलाइ त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् इनका? थुन्दिन्छु रे ! हामी राणाशासनका विरुद्ध लडेर आएका हौँ, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ, निरङ्कुश राजतन्त्रका विरुद्ध लडेर आएका हौँ । अनि ६ महिनेको जागिर खाने एउटा सिपाहीले भन्छ फलनालाई थुन्दिन्छु, ठट्टा मजाक ग¥या हो ? तिनी जन्मिनभन्दा अगाडिदेखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिराखेका छौँ । मजाक गर्ने हामीमाथि ? थुने हुन्छन् त समातेर । जो आउँछ थुन्दिन्छु, जो आउँछ थुन्दिन्छु, के हो यो ? हामी मजाकका पात्र हौँ ? ठट्टा जस्तो भएको छ सबलाई । थुन्दिन्छु रे ! प्रमाण भेटे त उनी पनि थुनिन्छन् होला नि, गलत काम ग¥या प्रमाण भेटे । अरू पनि त थुनिन्छन् होला नि । गृहमन्त्रीको देखिन्छ, फाइल खोल्दै छु, पर्खिनुस् सब थुनिन्छन्, १०१ थुनिन्छन् । कसलाई भन्या हो ? अब सबै थुनिन्छन् भने उनी र को बाँच्छन् त नेपालमा ? को बाँकी रहन्छ ? सबै थुनिन्छन् भने को चाहिँ बाँकी रहन्छ ? यस्तो गैरजिम्मेवार ढङ्गका अभिव्यक्ति दिएर आतङ्कको राज, मनोवैज्ञानिक आतङ्क अन्त फिँजाऊ, नेकपा एमाले यस्ता हावादारी कुराहरूबाट यस्ताहरूबाट हल्लिनेवाला पनि छैन, वास्ता गर्नेवाला पनि छैन ।’

उहाँले एमाले कसैको आतंकबाट नडराउने पार्टी नभएको बताउनु भयो । उहाँले गृहमन्त्री विरुद्ध पनि विभिन्न प्रमाणहरु रहेको उल्लेख गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>