नवलपुर

नवलपुरमा मेरो उम्मेदवारी कायम छः चित्रध्वज जिसी

Banner

नवलपुर, मंसिर १-

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार चित्रध्वज जिसीले आफूले उम्मेदवारी फिर्ता नलिएको बताउनुभएको छ । विभिन्न स्थानहरुमा भ्रम फैलाउन आफ्नो उम्मेदवारी फिर्ता भएको भन्ने हल्ला गरिएको भन्दै उहाँले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभयो ।

आज बिहीबार गैँडाकोटस्थित गैँडाकोट रिसोर्टमा पत्रकार सम्मेलन सम्मेलन गर्दै जिसीले भन्नुभयो, “मैले मेरो उम्मेदवारी फिर्ता लिएको पनि छैन कसैलाई समर्थन पनि गरेको छैन” जिसीले भन्नुभयो, “मेरो चुनाव चिह्न क्रस खुकुरी हो, उम्मेदवारी फिर्ता हुँदैन, मेरो जित सुनिश्चित देखेर उम्मेदवारी फिर्ता लियो भन्दै भ्रम फैलाइएको छ ।” उहाँले मतदाता समक्ष अन्य दल तथा उम्मेदवारले फैलाइएको अफवाहप्रति आपत्ति जनाउनुभएको हो ।

अन्य दल तथा उम्मेदवारले आफ्नो जित हुने पक्का देखेपछि डरले अफवाह फैलाएको उहाँको भनाइ थियो । आफ्नो उम्मेदवारी निष्क्रिय पारेको, स्वतन्त्र भनेको दल र चुनाव चिह्न भनेको अन्य रहेको जस्ता अनर्गल प्रचार गरेको उहाँको आरोप थियो । उहाँले अरु कसैलाई समर्थन नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको बताउँदै आफ्नो चुनाव चिह्न क्रस खुकुरी नै रहेको बताउनुभयो ।

आफूले बोलेर भन्दा पनि विकास गरेर देखाउने बताउँदै जिसीले पुस्ता हस्तान्तरण र सामाजिक रुपान्तरणका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । घरदैलो अभियान पश्चात मतदाताले दिएको आश्वासन र व्यक्त गरेका अभिव्यक्तिले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभयो । उम्मेदवार जिसीले आफू निर्वाचित भएपछि नवलपुर जिल्लालाई सक्षम जिल्ला बनाउने प्रतिबद्धता जनाउनुभयो ।

“स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुद, भौतिक तथा पूर्वाधार विकास साथै युवा व्यवस्थापन र रोजगारमा मेरो विशेष ध्यान जानेछ” उम्मेदवार जिसीले भन्नुभयो, “मैले जेसीजको थिम जस्तै एक व्यक्ति, एक पदमा विश्वास गर्छु एक कार्यकाल मात्रै म उम्मेदवार रहनेछु, अर्को कार्यकालमा नयाँ युवालाई पुस्ता हस्तान्तरण गर्नेछु ।” साथै उहाँले कसैको प्रलोभनमा आफ्नो उम्मेदवारी निष्क्रिय नबनाउने बताउनुभयो । उहाँले पाँच (जनशक्ति, जलस्रोत, जडिबुटी, जमिन र जंगल) को प्रयोगको नीति स्थानीय सरकारलाई दिनुपर्ने माग राखेर अघि बढेको बताउनुभएको थियो ।
निर्वाचन प्रचारप्रसारको समयमा क्षेत्र नम्बर १ मा पर्ने ५२ वटा वडाको लगभग सबै घरमा पुगेको उल्लेख गर्दै जनताको दुःख नजिकबाट बुझ्ने मौका मिलेको बताउनुभयो । घरदैलोका क्रममा मतदाताबाट पाएको माया र सहयोगलाई आफूले जितको आधार बनाएको जिसीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>