Breaking News

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनविरुद्ध जाहेरी, इनमको मोबाइलमा डिजिटल प्रमाण हेरफेरको आरोप

०
Banner

काठमाडौं, मंसिर २ –

अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा लिइएको इनम सापकोटाको मोबाइल फोन दुई दिन प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनको निजी निवास क्षेत्रमा रहेको दाबी गर्दै विजय शाहले प्रहरीमा जाहेरी दिएका छन् । मोबाइलको डिजिटल फरेन्सिक परीक्षण, लोकेसन विवरण र डिजिटल प्रमाणमा हेरफेर भएको आशंकासहित शाहले घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

भक्तपुरस्थित प्रहरी कार्यालयमा दिइएको जाहेरीमा शाहले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत झुटा प्रमाण बनाउनेसम्बन्धी कसुरमा अनुसन्धान गर्न माग गरेका छन् । जाहेरीमा कुमार बेनको ठेगाना ललितपुर महानगरपालिका वडा नम्बर १० मा रहेको उल्लेख छ ।

जाहेरीअनुसार असोज १४ गते प्रहरीले इनम सापकोटालाई पक्राउ गरी अनुसन्धानका लागि उनका दुईवटा मोबाइल फोन नियन्त्रणमा लिएको थियो । त्यसपछि सापकोटामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाइएको थियो ।

असोज १५ गते मोबाइल नम्बरबाट भएको भनिएको संवाद तथा सन्देश आदानप्रदानलाई समेत जाहेरीमा उल्लेख गरिएको छ । सापकोटाको मोबाइलबाट कुमार बेनको नम्बरमा ‘हेलो’ सन्देश पठाइएको र त्यसपछि जवाफ आएको विवरण उल्लेख गर्दै शाहले मोबाइल प्रहरी नियन्त्रणमा रहेको अवस्थामा संवाद भएको विषयमाथि प्रश्न उठाएका छन् ।

जाहेरीमा असोज १६ गते सापकोटा हिरासतमा रहेका बेला प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसँग सम्बन्धित व्यक्ति तथा अधिकारीहरू जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको विवरण पनि उल्लेख छ ।

कात्तिक १७ गते प्रहरीको विधिविज्ञान प्रयोगशालामा गरिएको फरेन्सिक परीक्षणको प्रतिवेदनलाई उद्धृत गर्दै सापकोटाबाट बरामद दुईवटा मोबाइल फोन परीक्षणका लागि पठाइएको र ती मोबाइल दुई दिनसम्म कुमार बेनको निजी निवास क्षेत्रमा रहेको लोकेसन देखिएको दाबी जाहेरीमा गरिएको छ ।

मोबाइलमा प्रमाण हेरफेर भएको आशंका

शाहले प्रहरी नियन्त्रणमा रहेका मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण गर्नुअघि अन्य व्यक्तिको पहुँचमा पुगेको दाबी गर्दै त्यस अवधिमा मोबाइलका डेटा तथा डिजिटल सामग्रीमा हेरफेर भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

मोबाइल फिर्ता आएपछि गरिएको फरेन्सिक परीक्षणबाट दुई दिनको अवधिमा मोबाइलका ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जालका सामग्री अनधिकृत रूपमा चलाइएको, विभिन्न सामग्री स्क्रिनसट लिइएको तथा सापकोटा र अन्य व्यक्तिबीच भएका केही महत्त्वपूर्ण सन्देशहरू मेटिएको हुनसक्ने विवरण जाहेरीमा उल्लेख छ ।

डिजिटल प्रमाणमा हेरफेर भएको भए त्यसले अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै शाहले मोबाइलको लोकेसन ट्र्याकिङ, फरेन्सिक परीक्षण प्रतिवेदन, मोबाइल नियन्त्रणमा रहेको समय र त्यस अवधिमा फोनको पहुँचमा रहेका व्यक्तिहरूबारे विस्तृत अनुसन्धान गर्न माग गरेका छन् ।

झुटा प्रमाण बनाएको कसुरमा कारबाही माग

जाहेरीमा मुलुकी अपराध संहिता, २०७४ को झुटा प्रमाण बनाउनेसम्बन्धी कानुनी व्यवस्थालाई उल्लेख गर्दै झुटा प्रमाण सिर्जना गर्ने, डिजिटल अभिलेखमा हेरफेर गर्ने वा प्रमाण नष्ट गर्ने कार्यमा संलग्न भए कानुनअनुसार कारबाही हुनुपर्ने माग गरिएको छ ।

शाहले डिजिटल प्रमाणको विश्वसनीयता कायम राख्न मोबाइल फोनको फरेन्सिक परीक्षण प्रक्रिया र अनुसन्धानमा संलग्न व्यक्तिहरूको भूमिकासमेत निष्पक्ष रूपमा छानबिन गर्न आग्रह गरेका छन् ।

जाहेरीमा लगाइएका आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ । आरोपित व्यक्ति तथा सम्बन्धित प्रहरी निकायको आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>