गोरखा
गोरखा प्रशासनमा सहायता कक्ष स्थापना, निःशुल्क फोटोकपी र परामर्श सेवा

गोरखा, मंसिर २ –
जिल्ला प्रशासन कार्यालय, गोरखाले सहायता कक्ष स्थापना गरेको छ । सेवाग्राहीलाई प्रभावकारी सेवा दिने उद्देश्यले सहायता कक्षा सञ्चालनमा ल्याएको हो ।
सामान्य प्रशासनिक प्रक्रिया नबुझ्दा, कुन कामका लागि कहाँ जाने र के कागजात चाहिन्छ भन्ने ज्ञान नहुँदा सेवाग्राहीले धेरै दुःख पाउँदै आएकाले सहायता कक्ष सञ्चालनमा ल्याउन परेको हो ।
सरकारी कामकाज लिएर प्रशासन कार्यालय पुगेका सेवाग्राहीको प्रशासनिक प्रक्रिया सहज बनाउन कार्यालयले सहायता कक्षा स्थापना गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।
“प्रशासन कार्यालयमा जिल्लाभरका बालबालिका, बृद्धबृद्धा, अपाङ्गता र सामान्य लेखपढ गर्न सेवाग्राही आउनुहुन्छ”, उहाँले भन्नुभयो, प्रजिअ शर्माले प्रशासन कार्यालयको सहायता कक्षमार्फत सोधपुछ सेवा र निःशुल्क फोटोकपी तथा स्क्यानिङ्ग सेवा समेत दिने गरेको छ ।
सहायता कक्षमार्फत टिकट बिक्री सेवा र प्रशासनिक प्रक्रियाबारे जानकारी समेत दिइने गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राहदानी र राष्ट्रिय परिचय पत्रको अनलाइन फारम सम्बन्धित फाँटबाटै भरिदिने सेवासमेत सुरु गरेको शर्माले बताउनुभयो ।
अनलाइन फारम भर्ने तथा फोटोकपीलगायत सामान्य काममा पनि सेवाग्राहीले पसलमा चर्को मूल्य तिर्नुपर्ने बाध्यता भएपछि प्रशासन कार्यालयले नै उक्त सेवा निःशुल्क रुपमा सुरु गरेको हो ।
























