खेलकुद

दुई गोलले पछि परेको यात्राले सफलतापूर्वक हात पार्‍यो एभरेष्टविरुद्ध जित

Banner

चितवन, पुस २८-

दुई गोलले पछि परेको अवस्था उल्टाउदै यात्रा ग्रुप भरतपुरले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नाटकीय कमब्याक जित निकालेको छ।

आज (बुधबार) भएको पहिलो खेलमा यात्राले सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवनलाई ३-२ ले पाखा लगायो । निकै रोमाञ्चक खेलमा यात्रालाई जिताउन सुरजराज भण्डारी, प्रविण श्रेष्ठ र विवेक राईले गोल गरे । एभरेष्टका मनिष आले मगर र शक्ति गुरुङले गोल गरे ।

खेलमा एभरेष्टले यात्राविरुद्ध सुरुवाती २ गोलको अग्रता लिएको थियो । १५ औं मिनेटमा मनिषले गोल गर्दै एभरेष्टलाई अग्रता दिलाएका थिए । १८ औं मिनेटमा शक्तिले गोल गर्दै एभरेष्टको अग्रता दोब्बर बनाए ।

दुई गोलले पछि परेको यात्रा पहिलो हाफको अन्त्य तिर खेलमा फर्कियो । पहिलो हाफको अन्तिम २ मिनेटमा दुई गोल गर्दै यात्राले कमब्याक गर्‍यो । ३९ औं मिनेटमा सुरजले हेडर गोल गर्दै यात्रालाई खेलमा फर्काउने संकेत गरे । लगत्तै ४० औं मिनेटमा प्रविणले सुन्दर गोल गर्दै बराबरी गरे ।

बराबरी गरेपछि उत्साहित देखिएको यात्राले दोस्रो हाफमा थप एक गोल गर्‍यो । ५६ औं मिनेटमा यात्राका बिबेकले ट्याप इन गोल गर्दै एभरेष्टलाई निराश पारे । बाँकी समयमा गोल भएन र यात्रा ३-२ ले बिजयी भयो ।

खेलको म्यान अद दि म्याच यात्राका प्रविण श्रेष्ठ चुनिए । खेलपछि यात्रका प्रशिक्षक कृष्ण कार्कीले खेलाडीहरुले रणनीति अनुसार नै प्रदर्शन गरेको बताए। उनले आजको जितले अर्को खेलका लागि उत्साह थप्ने बताए ।

जितपछि यात्राको तीन खेलबाट ६ अंक बटुलेको छ । समान खेल खेलेको रामपुरको पनि ६ अंक नै छ ।

आजको दोस्रो खेलमा नारायणी एफसी र एस्ट्रल युथ सोसाइटी भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिगमा १३ टोली सहभागि छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>