कृषि

भरतपुरमा मरेका कुखुरा र सडेका अण्डा खुवाएर प्रतिबन्धित माछा माहुर पाल्ने तीन फार्मलाई ७ दिनभित्र नष्ट गर्न निर्देशन

०
Banner

भरतपुर, कात्तिक १३-

पशु सेवा कार्यालय भरतपुरले प्रतिबन्धित माहुर माछा ७ दिनभित्र नष्ट गरिसक्न तीन वटा मत्स्य फार्मलाई निर्देशन दिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले भरतपुर महानगरपालिका–१७, १८ र २३ का चार वटा मत्स्य फार्मको अनुगमन गरेको थियो ।

तीमध्ये तीन वटा फार्ममा माहुर माछा पालन गर्ने गरेको पाइएको हो । पटक–पटक सचेत गराउँदा पनि प्रतिबन्धित माछा पाल्ने कार्य नरोकिएपछि एक हप्ताभित्र नष्ट गर्न निर्देशन दिइएको पशु सेवा कार्यालय भरतपुरका प्रमुख प्रभात न्यौपानेले जानकारी दिए ।

न्यौपानेले प्रतिबन्धित माछा पालन गर्ने फार्महरूलाई तुरुन्तै आफैँ व्यवस्थापन गरी नष्ट गर्न अल्टिमेटम दिइएको बताए । तोकिएको समयसीमाभित्र फार्मका प्रतिबन्धित माछा नष्ट नगरिएमा कडाभन्दा कडा कानुनी कारबाही गरिनेसमेत उनले चेतावनी दिएका छन्।

माहुर जातका माछाको सेवनले मानव स्वास्थ्य तथा जलीय जैविक विविधतामा समेत गम्भीर असर पार्ने गरेको छ। कुखुराका मरेका अवशेष, अण्डा, चल्ला तथा विभिन्न किसिमका फोहर दाना खुवाएर पालिने यस्ता माछाको सेवनले क्यान्सरलगायतका घातक रोगहरू लाग्न सक्ने जोखिम रहने कार्यालयले जनाएको छ।

माहुर जातका माछा उपभोग नगर्न कार्यालयले उपभोक्ताहरुलाई आग्रह पनि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>