राजनीति
प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार होः कुलमान घिसिङ

काठमाडौँ ,कात्तिक १३ –
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको धरपकड तथा प्रहरी हस्तक्षेपको निन्दा गरेका छन् ।
विज्ञप्ति जारी गर्दै घिसिङले प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार भएको बताएका छन् । उनले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गरेका छन् ।
नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै उनले यी अधिकार सरकारको इच्छा वा निगाहमा निर्भर नहुने बताएका छन् ।
सरकारका कामकारबाहीमाथि प्रश्न उठाउनु, सत्ताको निगरानी गर्नु र जनतालाई सुसूचित गर्नु पत्रकारिताको धर्म भएको उल्लेख गर्दै घिसिङले आलोचनालाई निषेध गर्ने र प्रश्न उठाउने आवाज दबाउने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन् ।
उनले प्रेस स्वतन्त्रतामाथिका सबै प्रकारका हस्तक्षेप र धरपकड तत्काल रोक्न, पक्राउ परेका पत्रकारहरूको कानुनी अवस्था सार्वजनिक गर्न तथा उनीहरूको संविधानप्रदत्त अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
‘पत्रकारको कलम रोक्दैमा सत्य रोकिन्न, प्रश्न दबाउँदैमा जवाफदेहिताबाट उम्किन सकिँदैन,’ घिसिङले विज्ञप्तिमा भनेका छन् ।
























