राजनीति
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल

पाल्पा,मंसिर १२-
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न सरकारले केही कानुन संशोधनको प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।
पाल्पाको दमकडामा आज आयोजित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले सरकारका कामकारबाहीका विषयमा विभिन्न कोणबाट प्रश्न उठ्नु स्वाभाविक भए पनि निर्णय गर्दा कानुनी प्रक्रिया पालना हुने गरेको बताउनुभयो ।
कानुन निर्माण गर्दा नेपालको भौगोलिक अवस्था, नागरिकको आवश्यकता, चेतनाको स्तर र प्रविधिको विकासलाई ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । पुराना कानुनलाई समय र आवश्यकताअनुसार संशोधन गर्ने तथा संविधानले व्यवस्था गरेअनुसार निर्माण हुन बाँकी कानुन बनाउने जिम्मेवारी आफूहरूको रहेको उहाँले बताउनुभयो ।
कानुन निर्माण गर्ने निकाय तथा त्यसको कार्यान्वयन र न्याय सम्पादन गर्ने निकाय इमानदार र जिम्मेवार भए मुलुकलाई समृद्ध बनाउन लामो समय नलाग्ने सभामुख अर्यालले उल्लेख गर्नुभयो । कानुन निर्माण र कार्यान्वयन गर्ने निकाय इमानदार भए नेपालजस्तो मुलुकलाई समृद्ध बनाउन १० वर्ष पर्याप्त हुने उहाँको भनाइ थियो ।
सभामुख अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको पनि जानकारी दिनुभयो । डिजिटल पार्लियामेन्ट प्रणाली लागू भएपछि नागरिकले आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधि संसद् बैठकमा कति पटक उपस्थित भए भन्ने विवरण मोबाइलबाटै हेर्न सक्ने उहाँले बताउनुभयो ।
आगामी दिनमा सांसदहरू सदनमा कति बजे प्रवेश गरे र कति बजे बाहिरिए भन्ने विवरणसमेत सार्वजनिक गर्ने तयारी भइरहेको उहाँको भनाइ थियो । यसबाट जनप्रतिनिधिलाई थप जवाफदेही बनाउनुका साथै संसदीय गतिविधिमा नागरिकको पहुँच र निगरानी बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
























