राजनीति
विद्युतसँग सम्बन्धित दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौँ : मन्त्री श्रेष्ठ

बागलुङ, मंसिर १२-
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युतजन्य दुर्घटना न्यूनीकरणका लागि सरकारले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ ।
बागलुङमा आज आयोजित सरोकारवालासँगको अन्तरक्रियामा उहाँले विद्युत् प्रयोग बढेसँगै दुर्घटनाको जोखिम पनि बढेकाले विद्यालयस्तरदेखि नै सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।
नाङ्गा तार विस्थापन, विद्युत् तार भूमिगत गर्ने तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले विद्युत् सुरक्षाका लागि आम नागरिक पनि सचेत हुनुपर्ने बताउनुभयो ।
बाढीपहिरोका कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको र बागलुङमा विद्युत् आपूर्ति अनियमित भएको गुनासो आएको बताउँदै उहाँले जिल्लाको विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न समन्वय भइरहेको जानकारी दिनुभयो ।
गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरो र नदी कटानले निसीखोला, गलकोटलगायत क्षेत्रमा पुर्याएको क्षतिको अवस्था बुझ्न बागलुङ पुग्नुभएका मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रको संरक्षण र पुनःनिर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।
अन्तरक्रियामा स्थानीयवासीले विद्युत् अनियमितता, नाङ्गा तार व्यवस्थापन, सिँचाइ तथा खानेपानी आयोजनामा भएको ढिलाइ र उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा ध्यान दिन आग्रह गरेका थिए ।
बागलुङका छ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएकाले पुनःनिर्माणमा सरकारले प्राथमिकता दिने मन्त्री श्रेष्ठले बताउनुभयो। उहाँले सोमबार पश्चिम बागलुङका प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
























